पोखरा, जेठ ।
सरकारी निकाय र निजी क्षेत्रका दुग्ध उद्योगी मिलेर आज विश्व दूग्ध दिवस बनाएका छन् । दिवसका अवसरमा गण्डकी प्रदेशको राजधानी पोखरामा राष्ट्रिय व्यावसायीक पशुपालक तथा दुग्ध उत्पादक कृषक समाजको आयोजना तथा भुमि व्यवस्था कृषी तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, राष्ट्रिय पशु प्रजनन केन्द्र, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र पोखरा महानगरपालिका पशुसेवा महाशाखाको सहआयोजनामा कृषक सम्मान तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । उक्त अवसरमा कृषकहरु जीवन प्रसाद अधिकारी, ओम प्रसाद अधिकारी र रामेश्वर भण्डारी, पशु प्राविधिक शेर बहादुर सारु मगर र पत्रकार सन्देस श्रेष्ठलाई नगद सहित सम्मान गरिएको छ ।


कार्यक्रमका सहभागीहरुले गुणस्तरीय उत्पादन र बजारीकरणमा जोड दिएका छन् । दूध उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने तथा दूधको महत्वलाई प्रचार–प्रसार गने उद्देश्यले वर्षेनी विश्व दूग्ध दिवस मनाउने गरिएको सरोकारवालाहरुले बताएका छन् । कार्यक्रममा बोल्दै भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अधिकृत शहदेव पौडेलले स्वच्छ दुध उत्पादन जोड दिए । पोखरा दुग्ध प्रशोधन व्यवसायी संघका संयोजक पुण्य प्रसाद पौडेलले कृषकहरुको उत्साह वृद्धिका लागी बजारको सुनिश्चिता हुनुपर्ने बताए । राष्ट्रिय पशु प्रजनन केन्द्रका कृष्ण कान्त न्यौपानेले अहिले १५ प्रतिशत कृषकहरुले संगठित रुपमा दुधको बजारीकरण गरिरहेका, ३५ प्रतिशत असंगठित र ५० प्रतिशत कृषकहरुको दुध घारगोठबाट बाहिर निस्कन नसकेको बताए । यसलाई बजारको माग अनुसार लिंकेज गर्दै राज्यले पनि उद्योगको रुपमा स्विकार गर्नु पर्नेमा उनले जोड दिए ।

पशु तालिम केन्द्रका प्रमुख गृष्म न्यौपानेले दुध उत्पादनमा गण्डकी प्रदेश निकै अगाडी रहेको भएपनि उपयोगमा भने पछाडी रहेको उल्लेख गरे । मानिसले स्वस्थ्य रहन प्रत्येक वर्ष ९२ लिटर दूध उपभोग गर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड रहेको भन्दै उनले नेपालमा भने हाल उत्पादन भइरहेको दूध प्रतिव्यक्ति ७४ लिटर मात्र हुने बताए । अपुग १८ लिटर उत्पादन वृद्धि गर्नुपर्ने उनको जोड छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. मन बहादुर पुनले दुध सवै उमेर र सवै प्रकारका मानिसहरुका लागी सन्तुलित आहार भएको उल्लेख गर्दै यसलाई निर्वाहमुखी भन्दा पनि व्यावसायीक बनाउनु पर्नेमा जोड दिए । स्वस्थ उत्पादनका लागी पशुको जात, स्वास्थ्य, आहारा, प्रजनन, प्रविधि महत्वपुर्ण हुने उनले बताए ।




कार्यक्रममा भुमि व्यवस्था कृषी तथा सहकारी मन्त्रालय गण्डकीका सचिव दुर्गा प्रसाद दवाडीले कृषकहरुको उत्साह र उत्पादनको बजारीकरणका लागी प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । पाडा बाच्छा पाल्ने कृषकहरुलाई प्रोत्साहन स्वरुप नगद अनुदान प्रदान गर्ने सचिव दवाडीले जनाए । मागअनुसार दूध उत्पादन तथा आपूर्ति गर्न सक्ने क्षमता किसानहरूमा रहेको सरोकारवालाहरुले बताएका छन् । गण्डकी प्रदेशलाई दुधमा आत्मर्निभर बनाउदै अन्य प्रदेशहरुमा समेत निर्यातको वातावरण बनाउनु पर्नेमा उनिहरुको जोड छ । स्वस्थ दुधको सेवनलाई उनिहरुले स्वस्थ जिवन भनेका छन् ।










तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार