पोखरा, जेठ ।
महिला सिप विकास संस्था पोखराको आयोजनामा ३ महिने हाते तान बुनाई, २ महिने सिलाई तथा एक महिने गुडिया बनाउने तालिम सुरु भएको छ । उक्त तालिमको एक कार्यक्रमका बीच शुक्रबार प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ८ का वडाअध्यक्ष रुद्रनाथ बरालले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले नयाँ नयाँ कार्यक्रमहरुका बारेमा जानकारी दिँदै पछिल्लो समय महिलाहरु केन्द्रित विविध कार्यक्रमहरु वडामा आएको बताउनुभयो । यसका साथै उहाँले वडामा रहेका कार्यक्रमहरुका लागि वडासंग समन्वय गर्न महिला सिप विकास संस्थाका महिला दिदिबहिनीहरुलाई आग्रह समेत गर्नुभएको छ । त्यस्तै संस्थाले गर्ने राम्रा कार्यमा महानगरपालिकाले पनि सक्दो सहयोग गर्ने बरालको प्रतिबद्धता थियो ।

कार्यक्रममा बोल्दै संस्थाका कार्यकारी निर्देशक रामकली खड्काले तालिमको महत्वका बारेमा प्रष्ट पार्नुभएको थियो । तालिम एकदमै फलदायी हुने भन्दै तालिम लिए पश्चात स्वरोजगार बन्ने अवसर मिल्ने उहाँको भनाई थियो । यसका लागि ध्यानपुर्वक तालिम लिनुपर्ने र तालिममा सिकेका कुरालाई प्रशिक्षार्थीले व्यवहारमा लागु गर्नुपर्नेमा उहाँको जोड थियो । पोखरा महानगरपालिकाका विभिन्न वडाहरु वडा नं २७, १५, १९, १४, १६, १, २५ र ७ का गरी जम्मा ७० जना सहभागीहरुलाई लक्षित गरि आयोजित उक्त तालिममा प्रशिक्षकहरु सिता थापा, भगवति ढकाल, चुमाया पुर्जा र प्रेम कुमारी गुरुङ्गले प्रशिक्षण दिनुहुने भएको छ ।
संस्थाको का.वा.अध्यक्ष काशिमाया गुरुङ्गकको सभापतित्वमा भएको उद्घाटन समारोहमा संस्थाका सचिव तारा देवि गर्बुजाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन मिना खड्काले गर्नुभएको थियो । तालिम संस्थाको भवन तथा लामाचौर स्थित शाखा कार्यलयमा सञ्चालन हुने संस्थाले जनाएको छ ।










तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार