बेनी, चैत । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले उद्योग र व्यवसायको विकासमा सहकारीको सहभागिता बढाउनुपर्ने बताउनुभएको छ । ६२ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ म्याग्दीले बुधबार बेनीमा आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले गरिब, विपन्न र पिछडिएको समुदायसम्म सहकारीको पहुँच वृद्धी गर्नुपर्ने बताउनुभयो ।


स्थानीय स्रोत साधनको पहिचान र परिचालन गरेर उद्योग तथा व्यवसायको विकासका लागि सहकारी संस्थाहरुले पूजी परिचालन गर्न मन्त्री थापाले सुझाव दिनुभयो । सहकारीलाई बचत र ऋण लगानीमा मात्र सिमित नबनाउन उहाँले आग्रह गर्नुभयो । आर्थिक स्रोतमा नागरिकको पहुँच बढाउनका लागि सहकारी संस्थाहरुले ठोस योजनाका साथ अघि बढ्न आवश्यक रहेको मन्त्री थापाको भनाई थियो । म्याग्दीमा पर्यटन, कृषि, जडिवुटी खेती, पशुपालन, अल्लो प्रशोधन, नेपाली कागज उत्पादन जस्ता आयमुलक उद्योग व्यवसायमा सहकारीले सामुहिक लगानी गर्नुपर्ने थापाले बताउनुभयो ।
सहकारी संस्थालाई व्यवस्थित बनाउन सरकारले पहल गरेको जानकारी दिनुभयो । उहाँले सामुहिक र व्यक्तिगत व्यवसाय गरेर विदेशको विकल्पमा स्वरोजगार बन्न चाहनेलाई सरकारले ऋणको ब्याजमा सहुलियत दिने बताउनुभयो । पिछडिएका र विपन्न महिलाहरुको आर्थिक स्रोतमा पहुँच बढाउनका लागि मन्त्रालयले यस वर्षदेखि म्याग्दी लगायत ३० जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । म्याग्दीमा कार्यक्रम सञ्चालन गर्न तीन वटा गैरसरकारी संस्था छनौट गरिएको मन्त्री थापाले बताउनुभयो ।
गण्डकी प्रदेशका सांसद बिनोद केसीले कुल लगानीको तीस प्रतिशत अनीवार्य कृषि क्षेत्रमा लगानी गर्नुपर्ने र दोहोरिएर सदस्य बन्न नपाइने प्रदेशको सहकारी नीति कडाइका लागि कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, नेकपा जिल्ला संयन्त्र सदस्य टेकबहादुर बिक, नेपाली काँग्रेस म्याग्दीका सचिव मिनबहादुर कार्की, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
जिल्ला सहकारी संघका अध्यक्ष दिपक कार्की बिखर्चीको अध्यक्षता, उपाध्यक्ष ज्ञानेन्द्र सुवेदीको स्वागत मन्तब्य र सचिव ज्योती लामीछानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । औपचारिक समारोह सुरु हुनुअघि बेनीमा सहकारी संस्थाका सञ्चालक र कर्मचारीहरुले ¥याली निकालेका थिए । दिवसको अवसरमा बेनीमा महिलाहरुले मात्र सञ्चालन गरेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले मुठ्ठीदान अभियान अन्तरगत तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ सहयोग गरेको छ ।
संस्थाकी अध्यक्ष ज्योती लामीछानेले महिला, बालबालीका तथा जेष्ठ नागरिक मन्त्री थाममाया थापा र जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रजीअ लीलाधर अधिकारी मार्फत संघीय सरकारको राहत कोषका लागि रकम हस्तान्तरण गर्नुभएको थियो । महिलाहरुद्धारा मात्र सञ्चालित उक्त सहकारीले श्रीमानको कुटाइबाट घाइते भएकी धवलागिरी गाउँपालिका ६ मराङकी डिलमाया सुनारको उपचारका लागि पाँच हजार रुपैयाँ सहयोग गरेको छ ।
सो कार्यक्रममा जिल्ला सहकारी संघ र संघका अध्यक्ष दिपक कार्की (बिखर्ची)ले आफ्नो छोराको जन्मदिनको अवसर पारेर नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले स्थापना गर्न लागेको अक्षयकोषमा दश÷दश हजार रुपैयाँ हस्तान्तरण गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार