आज हरितालिका तिज पर्व, हिन्दु नारीहरुले निराहार व्रत बसी मनाउदैछन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ ।
अघिल्लो दिन आडिलो र पोषणयुक्त दर खाएर बसेका महिलाहरुले तिजका दिन पानी समेत नपिइ आफू, आफ्ना सन्तान र पतिदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने चलन छ ।
पछिल्लो समयमा व्रत बस्ने तरिकामा भने परिमार्जन हुदै आएको छ । अहिले धेरै कमले मात्र निराहार व्रत बस्ने गर्दछन् । तिजका दिन विहानै नुहाइ धुवाइ गरी भगवान शिवको आरधना गर्दै महिलाहरु नाचगान र रमाइलो गर्नमा ब्यस्त हुने गरेकोमा यसपाली कोरोना भाइरसको महामारी र निषेधाज्ञाका कुनैपनि कार्यक्रमहरु आयोजना गरिएका छैनन् ।
पौराणिक कालमा हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउन बसेको ब्रतसँग यो हरितालिका तिज जोडिएको पाइन्छ । शिव पुराणमा उल्लेख भएअनुसार पार्वतीको भगवान विष्णुसँग विवाह गर्न खोजिएपछि, पार्वतीलाई उनका साथीहरुले लुकाएर जंगलमा लगेको र पछि त्यहीबाट ब्रतको सुरुवात भएको बताईन्छ ।
हरितालिका तिजको प्रसङ्ग मात्र नभई यसको नामाकरण पनि पार्वतीले बसेको कठोर ब्रतसँग जोडिएको छ । हरितालिका, हरिता र अलिका मिलेर बनेको हो । जसमा हरिताको अर्थ हरण र अलिताको अर्थ साथीहरु भन्ने संस्कृतमा बुझिन्छ । यसरी भगवान विष्ण्ुासँग पार्वतिले विवाह गर्न नमानेपछि साथीहरुले जंगलमा लुकाएर लगेकाले यसलाई हरितालिका भनिएको कथन छ ।
तिजका दिन विवाह भएका महिलाहरुले मात्र नभई अविवाहिता महिलाहरुले सुयोग्य बर प्राप्त होस भन्ने कामनाका साथ ब्रत वस्ने गर्छन् । कति भने मनमा शान्तिका लागि ब्रत बस्ने गरेका छन् ।
हरितालिका तिजका दिन राजधानीको पशुपतिनाथ लगायत देशभरका शिवालयहरु सुनसान रहेका छन् । अघिल्ला वर्षहरुमा भक्तजनहरुको घुइचो लाग्ने मन्दिर कोरोना भाइरसको महामारीका कारण बन्द गरिएका हुन् । नित्य पुजा बाहेक अन्य पुजा आज त्यहाँ भएका छैनन् ।
दियो कलश गणेश थापी माझमा थालीमा शिव पार्वति सम्झेर साँझ हरितालिकाको पुजा लगाउने चलन छ । तिजको ब्रत भने भोलिपल्ट गौदान र पुर्णपात्रो गरेपछि मात्र पुर्ण हुने विश्वास गरिन्छ ।
हरितालिकाको पर्सिपल्ट पंचमीका दिन अरुणधती सहित सप्तऋषिको पुजा गरेपछि तिज सकिन्छ । पंचमीका दिन महिनावारीबाट हुने छुवाछुतबाट हुने दोषबाट मुक्त हुन यसदिन व्रत सहित सप्तऋषिको पुजा गर्ने गरिन्छ । यसदिन विहानै महिलाहरुले ३ सय ६५ वटा दतिवन पनि लगाउने गर्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार