काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले असामाजिक, लुटपाट, हिँसात्मक, विध्वंशात्मक गतिविधि गर्न नपाइने र त्यो छुट सरकारले नदिने बताउनुभएको छ ।


विराटनगरमा आइतबार तरकारी तथा फलफूल बजारको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री ओलीले पृथकतावाद समाप्त भएकाले शान्तिपूर्ण ढङ्गले देश सञ्चालनमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
लोकतन्त्रको आवरणमा नेत्रविक्रम चन्द समूहले गरेका अराजक गतिविधिमा प्रतिबन्ध लगाइएको प्रष्ट पार्दै उहाँले कानूनी परिधिभित्र आफ्ना राजनीतिक क्रियाकलाप गर्न र हतियार बुझाउन सरकारले समय दिएको स्पष्ट गर्नुभयो । लुटेरा समूहलाई हतियार बुझाउने समय दिइएको भन्दै उहाले समयमा बुझाएनन् भने सरकार हतियार लिन आफैँ घरघरमा जाने बताउनुभयो । उहाँले चन्दाका नाममा जनतालाई धम्काउने र त्रास देखाउने गतिविधि लोकतन्त्रमा नचल्ने धारणा पनि राख्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले बजारको साँचो प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गर्नुभयो भने जग्गादाता जनप्रिय मावि, कटहरी गाउँपालिका अध्यक्ष र निर्माण कम्पनीलाई सम्मान गर्नुभयो । नेपाल सरकार र विश्व बैँकको अनुदानमा रु १५ करोड ४८ लाख ४९ हजार लागतमा भूमि कन्सट्रक्सन प्रालिले बजार निर्माण गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार