काठमाण्डौ, वैशाख ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारको जग्गा प्रकरणमा मुछिएका आफ्ना पार्टीका महासचिव विष्णु पौडेलको बचाउ गर्नुभएको छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा मंगलबार बसेको नेकपा संसदीय दलको बैठकमा ओलीले राजाको शासनको बेलामा किनिएको जग्गाको विषयमा अहिले लाञ्छना लगाउनु उचित नहुने भन्दै महासचिवले आफ्नो पदको दूरुपयोग गरेर बालुवाटारको जग्गा नकिनेको बताउनुभएको हो । बालुवाटारस्थित ललिता निवाससँग जोडिएको आठ आना सरकारी जग्गा नेकपा महासचिव पौडेलका छोरा नवीनको नाममा पुगेपछि पौडेल आलोचित हुँदै आउनुभएको छ । प्रधानमन्त्री ओलीले महासचिवमाथिको लाञ्छना पार्टी र सरकार विरुद्धकै आक्रमणको रुपमा अघि सारिएको तर्क गर्नुभयो । बालुवाटारको जग्गा हिनामिना, सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गराउनेको खोजी तथा छानबिन भइरहेको जिकिर गर्दै ओलीले कसैलाई नछाडिने र मुख हेरेर व्यवहार नगरिने प्रतिवद्धता दोहाराउनुभयो । प्रधानमन्त्री ओलीले सार्वजनिक जग्गा मिच्न नदिने र सरकारको नाममा फिर्ता गर्ने स्पष्ट पार्नुभयो ।


बैठकलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यका साथ सरकार अघि बढिरहेको पनि बताउनुभयो । अहिले गरिवीको निरपेक्ष रेखामुनी १८ प्रतिशत जनता रहेको भन्दै उहाले अवको केहि समयभित्र कुनै नेपाली गरिवीको रेखामुनी नहुने दाबी गर्नुभयो । उहाले परिणाममा आधारित भएर सरकारमाथिको विश्वास बढेको धारणा पनि राख्नुभयो । मुलुकका ठूला ठूला आयोजना अघि बढेको भन्दै प्रधानमन्त्री ओलीले अवको तीन बर्षभित्र मुलुकका सवै जनताको घरमा बिधुत पुग्ने बताउनुभयो । उहाले मलुकमा लगानीको वातावरण बनेको भन्दै अन्य देशबाट अव लगानी भित्रने दाबी पनि गर्नुभयो ।
बैठकमा ओलीले बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे संसदहरुलाई जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री ओलीले बजेट अधिवेशनमा राष्ट्रपति आउँदा सांसदहरु ढिलो गरी आउने, उठेर हिँड्ने लगायतका गतिविधि गरेको प्रसंग उल्लेख गर्दै अमर्यादित काम नगर्न आफ्ना सांसदहरुलाई निर्देशन दिनुभयो । बजेट छलफलमा बोल्दा गहिराइमा अध्ययन गरेर बोल्न उहाले निर्देशन पनि दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार