काठमाण्डौ, वैशाख ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानप्रतिको आफ्नो प्रतिबद्धतालाई कामबाट प्रमाणित गर्न सुझाव दिनुभएको छ । सोमबारबाट सुरू भएको संघीय संसदको चौथो अधिवेशनमा दलीय प्रतिनिधिका रुपमा शुभकामना मन्तव्य दिँदै सभापति देउवाले प्रधानमन्त्री ओलीलाई वर्तमानको कामबाट संविधानप्रतिको प्रतिबद्धतालाई प्रमाणित गर्न सुझाव दिनुभएको हो । सभापति देउवाले संघीय, लोकतान्त्रिक, गणतन्त्र, समावेशी राजनीतिलाई अझ पुष्ट बनाएरमात्रै समृद्धि सम्भव भएको पनि जिकिर गर्नुभयो ।


देउवाले ओली नेतृत्वको सरकारले १४ महिनाको अवधिमा जनतालाई देखाउन लायक र आशा जगाउने एउटा पनि काम सम्पन्न गर्न नसकेको टिप्पणी गर्नुभयो । देउवाले लोकतन्त्रलाई कमजोर पारेर, प्रेस स्वतन्त्रतामाथि अतिक्रमण गरेर, संसदलाई भूमिकाहिन बनाएर, प्रदेश र स्थानीय तहका सरकारको संविधान प्रदत्त अधिकारलाई संकुचित गरेर समृद्धि सम्भव नभएको पनि बताउनुभयो । देउवाले प्रधानमन्त्रीमा अधिकार केन्द्रित गर्न राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान, सम्पत्ति सुद्धिकरणलगायतका कार्यालय प्रधानमन्त्री कार्यालयमा ल्याउने कार्य संघीयताको मर्म र भावना विपरित रहेको जिकिर गर्नुभयो ।
त्यस्तै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जनता निराश नभई उत्साहित भएको दाबी गर्नुभयो । नेम्वाङले प्रतिपक्षलाई सम्मान गर्ने र साथमा लिएर अगाडि बढ्ने प्रतिवद्धता समेत जनाउनुभयो । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा सांसद डा. बाबुराम भट्टराईले सदन बहसको थलोभन्दा टाढा भएको उल्लेख गर्दै बहसमा जीवन्त ढंगले प्रस्तुत हुन नसकेको बताउनुभयो । भट्टराईले सबैको थेगो ‘समृद्धि’ अनुसार विगत तीन वर्ष ६ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हासिल भएको पनि बताउनुभयो ।
राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले बारा र पर्साको पुनर्निर्माण गर्न प्रदेश सरकार नै सक्षम रहेको अवस्थामा केन्द्र सरकारले सेनालाई जिम्मा दिएको भन्दै आपत्ती जनाउनुभयो । संघीय समाजबादी फोरम, नेपालका राजेन्द्र प्रसाद श्रेष्ठले आफुहरुको माग पुरा नभए सरकारसंगको सहकार्य टुट्न सक्ने धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार