काभ्रेपलाञ्चोक जिल्लाका २१ वर्षीय एक युवकको बर्डफ्लुबाट मृत्यु भएको छ । गत चैत १० गते ज्वरो र खोकीको लक्षणसहित शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पताल, टेकुमा भर्ना भएका उनको चैत १५ गते मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे मृतकलाई इन्फ्लुएन्जा रोगको सङ्क्रमण भएको आशङ्कामा त्यसको यकिन गर्न नमूना परीक्षणका निम्ति जापान पठाइएको र त्यसको परिणाम यही वैशाख १७ गते प्राप्त भएको जनाउँदै उनको निधन बर्डफ्लुबाटै भएको पुष्टि भएको जानकारी दिएको हो । मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठनको प्रावधानानुसार सो सम्बन्धमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय काठमाडौँस्थित विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्वी एशिया क्षेत्रीय कार्यालय तथा नेपाल देशीय कार्यालयलगायत निकायसँग सहकार्य थालेको बताएको छ । स्वास्थ्य सचिव डाक्टर पुष्पा चौधरीले पहिलो पटक यस रोगबाट नेपालीको मृत्यु भएको बताउनुभयो । मन्त्रालयले उक्त रोगको सङ्क्रमण फैलिन नदिन निगरानी बढाउनाका साथै त्यसको विस्तृत अध्ययन थालिसकेको स्पष्ट गरेको छ ।


यसैविच प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले जागरण अभियानलाई देशव्यापीरुपमा प्रभावकारी बनाउने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहिबार बसेको पदाधिकारी बैठकले जनतामाझ पार्टीको जागरण अभियानलाइ प्रभावकारी रुपमा अघि बढाउने निर्णय गरेको हो । सहमहामन्त्री प्रकाशरण महतले सातवटै प्रदेशमा हुने जागरण अभियानमा शीर्ष नेताहरुले सम्बोधन गर्ने र जिल्लातहमा केन्द्रीय नेताले सम्बोधन गर्ने जानकारी दिनुभयो । बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने नीति तथा कार्यक्रमका बारेमा पनि छलफल गरेको सहमहामन्त्री महतले बताउनुभयो । बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला लगायतका नेता सहभागी थिए ।


यस्तै बालुवाटार जग्गा प्रकरण र खुला मञ्च अतिक्रमणका बारेमा सरकारले नागरिकलाई प्रष्ट पार्नुपर्ने माग सांसदहरुले गरेका छन् । सिंहदरबारमा बिहिबार बसेको राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिमा उनीहरुले ती दुई प्रकरणमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका विभिन्न नेता वा जोकोही मुछिए पनि पारदर्शी ढङ्गबाट छानबीन गरेर दोषीमािथ कारवाही गर्नुपर्नेमा जोड दिएका हुन् । समितिका सदस्य रमेशजङ्ग रायमाझीले सरकारले ती दुई घटनाका बारेमा सत्यतथ्य खोजी गरी जनताले देख्ने गरेर कारवाही गर्नुपर्ने बताउनुभयो । विगत वा अहिलेको सरकारका जोसुकै संलग्न भए पनि सरकारले यथार्थ बाहिर ल्याउन ढिलाइ गर्न नहुनेमा उहाँको जोड थियो । समितिका सदस्य सरिता प्रसाईँले ती दुई प्रकरणमा मुछिएका नेता र कर्मचारी कसैलाई पनि त्यसै छाड्न नहुने बताउनुभयो । ललितपुर र काठमाडौँ जिल्लामा रहेका धेरै खाली जग्गा एकपछि अर्काे गर्दै अतिक्रमण भइरहेको उहाँले जिकिर गर्नुभयो । छलफलपछि समितिका सभापति तारादेवी भट्टले हुरीले वा भूकम्पले लडाउने खालको विकास गर्न नहुने बताउनुभयो । समितिले प्रधानमन्त्री कार्यालय, मन्त्रालय, प्रदेश र स्थानीय तहसम्मको सुशासनको अवस्था हेरेर छलफल र आवश्यक निर्देशन दिइरहेको उहाँको भनाइ थियो ।समितिले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको डिजाइनमा नेपालीपन झल्काउने गरी सुधार गर्नुपर्ने सुझाव दिएको छ । समितिले यही वैशाख ८ गते प्रदेश नं ५ को बुटवलमा प्रदशस्तरीय अन्तरक्रिया गर्दै विमानस्थलको समेत अनुगमन गरेको थियो ।


यस्तै संसदीय समितिले काठमाडौँको टेकु पुल र बाग्मती पुलको निरिक्षण गर्ने भएको छ । सिंहदरबारमा बिहिबार बसेको प्रतिनिधिसभा अन्तर्गतको बिकास तथा प्रविधि समितिले टेकु पुल र बाग्मती पुलको भौतिक अवस्थाबारे निरिक्षण गर्ने निर्णय गरेको हो । बैडकमा सांसदहरुले कालीमाटी टेकु जोड्ने ६२ मिटरको पुल र मीनभवन तीनकुने जोड्ने बाग्मती पुलमा अनियमितता भएको र पुल कमजोर भएको भन्दै अनुगमन गर्नुपर्ने धारणा राखेका थिए । पुल हस्तान्तरण नभएको, पुलमा देखिएको प्राविधिक समस्या समाधान नगरी निर्माण अघि बढाएको र परामर्शदाताले दिएको सुझाव पालना नगरी निमार्ण गरेको आरोप सांसदहरुले लगाएका छन् । समितिले उक्त पुलका बारेमा अध्ययन गरिसकेपछि थप छलफल गर्ने र आवश्यक निर्णय लिईने समिति सभापति कल्णाली खड्काले जानकारी दिनुभयो । ती दुबै पुल पप्पु कन्स्ट्रक्सनले बनाएको हो । पुल प्राविधिक रुपमा कमजोर रहेको भन्दै सडक विभागले सञ्चालनमा रोक लगाएको छ । गुणस्तरहीन भएको भन्दै यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ती पुल भत्काउनु पर्ने बताउनुभएको थियो ।
काठमाडौंको धापासीमा ऐतिहासिक धार्मिक स्थल देबघाटको गुरुकुल शाखा निर्माण गरिएको छ । हरिहर मन्दिर , हरिहर आश्रम, बैदिक कर्मानुष्ठान गर्ने हबनकुण्ड , बाचनालय देबघाटको गुरुकुल शाखाको रुपमा निर्माण गरिएको हो । बिराट महायज्ञ मुल आयोजक समितिले बिहिबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे हरि –बिष्णु र हर –शिबको बिग्रह प्रतिष्ठापित मन्दिरको रुपमा हरिहर मन्दिर र सोही मन्दिरको नामबाट हरिहर सन्यास आश्रम पनि निर्माण गरिएको जानकारी दिएको छ । निर्मा(ा गरिएको मन्दिरको बैशााख २५ गते बिहान उदघाटन गर्ने कायक्रम रहेको छ ।

हरिहरमन्दिर बिराटज्ञानमहायज्ञ तथा टोखानगर धार्मिक महोत्सब पनि सोही दिन देखि अर्थात बैशाख २५ गते देखि जेठ १ गते सम्म संचालन हुने समितिले जनाएको छ । पत्रकार सम्मेलनमा हरिहर सन्यास आश्रम, श्रीपरमानन्द संस्कृत गुरुकुल बिधापीठम देबघाटधाम तथा नेपाल सन्त समाजका अध्यक्ष,पीठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वतीले जनअपेक्षाअनुसार टोखा नगरको धापासीमा हरिहर मन्दिर , हरिहर सन्यास आश्रम निर्माण गरेको बताउनुभयो । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आश्रमले टोखानगरलाई मात्र नभइ काठमाडौ राजधानीबासीलाई अर्को धार्मिक श्रद्धाको पबित्र स्थान बनाएको बताउनुभयो । बुट्यान, झाडीले भरिएको स्थानलाई धार्मिक बनको रुपमा बिकास गरी सो क्षेत्रको बिकास र बालबालिकाहरुलाई गुरुकुलम शिक्षा पनि दिने गरी सो क्षेत्रको बिकास समेत गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार