काठमाण्डौ, वैशाख ।
“सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५” राष्ट्रियसभा बैठकमा पेश भएको छ । बुधबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले सो विधेयक पेश गर्नुभएको हो । त्यसैगरी मन्त्री पोखरेलले “शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५” पेश गर्नुभयो ।


बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले “प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५” सभा समक्ष पेश गर्नुभयो । त्यसअघि बैठकको बिशेष समयमा कांग्रेस सांसद जितेन्द्र देवले नीति तथा कार्यक्रममा राखिएको भाषा प्रति आपत्ती जनाउनुभयो । उहाले प्रदेशलाई केन्द्रमातहत राख्ने अभिव्यक्ती प्रधानमन्त्री दिएको प्रतिपनि आपती जनाउनुभयो । त्यस्तै सांसद सुमनराज प्याकुरेलले अहिलेको मर्यादाक्रमलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो । सुविधामा बढि खर्च देखिएको भन्दै उहाले पद अनुसार प्रदान गर्ने सवारी साधनको मूल्य निर्धारण गर्नुपर्ने जिकिर गर्नुभयो ।
त्यसअघि बैठकको शुन्य समयमा सांसदहरुले आवश्यक बजेट र चिकित्सकको व्यवस्था गरी राप्ती अस्पताल सञ्चालनमा ल्याउन माग गरे । सांसद अनिता देवकोटाले रुकुम, रोल्पा, सल्यान, दाङलगायत जिल्लाका जनताको उपचार हुने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुधारका लागि आवश्यक बजेट माग गर्नुभयो । सांसद कोमल ओलीले चिकित्सक र बजेटको अभावमा राप्ती अस्पताल सञ्चालनमा समस्या देखिएको बताउँदै त्यहाँका जनताको उपचार गर्ने वातावरण तत्काल बनाइनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय सभाको अर्को बैठक यही वैशाख २७ गते १ बजे बस्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार