फाइनान्सका विज्ञ पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. केशरजंग बराल मगर संस्कृतिका बारेमा पनि उत्तिकै जानकार हुनुहुन्छ । “पाल्पा, तनहुँ र स्याङ्जाका मगरहरूको संस्कृति” नामक अनुसन्धानमूलक पुस्तक प्रकाशित गरिसक्नुभएका प्रा.डा. बराल, मगर समुदायको एक प्रतिष्ठित प्राज्ञिक व्यक्तित्व हुनुहुन्छ । हाल त्रिभुवन विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पसमा प्राध्यापनरत प्रा.डा.बराल चीन, भारत, अमेरिका, भुटानलगायतका देशका विभिन्न विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रुपमा कार्यरत हुनुहुन्छ । नेपाल मगर संघका केन्द्रीय सल्लाहकार समेत रहनुभएका प्रा.डा. बरालसँग मगर भाषा र संस्कृतिका विषयमा पत्रकार रूद्रबहादुर श्रीसले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :


यहाँलाई स्वागत छ, यो कुराकानीमा ।
धन्यवाद ।
खासमा संस्कृति के हो ? यसलाई कसरी बुझ्ने ?
संस्कृति भनेको के हो ? भन्ने कुरा सबैले बुझ्न जरुरी छ । संस्कृति मानिसको दैनिक जीवनसँग जोडिएको हुन्छ । दैनिक क्रियाकलापको वातावरण, भौगोलिक, सामाजिक वातावरणले संस्कृतिलाई निर्धारण गर्दछ । मानिसको क्रियाकलापलाई विना प्रश्न गर्ने क्रियाकलाप नै संस्कृति हो । संस्कृति हुनका लागि विनाप्रश्न समुदायका प्रत्येक सदस्यले स्वीकारेको हुनुपर्छ ।
मगर संस्कृतिलाई चाहिँ कसरी बुझ्न सकिन्छ ?
समुदायको वातावरण, उनीहरूको विकासको क्रम, समाजको आवश्यकता आदिले संस्कृतिको विकास हुन्छ । संस्कृति गतिशील हुन्छ । संस्कृतिमा विविधीकरण हुन्छ । संस्कृति एउटा विज्ञान हो । विविधता संस्कृतिको विशेषता हो । मगर जाति पनि एउटा विशिष्ट संस्कृतिको पहिचान बोकेको जाति हो । विभिन्न ठाउँमा बस्ने मगरहरूको संस्कृतिमा विविधता हुनु स्वाभाविक छ । तर, विविध संस्कृतिलाई एकीकरण गर्न भने सकिँदैन । आ–आफ्नै पहिचान बोकेका संस्कृतिको आफ्नै विशेषता हुन्छ ।
मगर संस्कृति फरक फरक हुनाले समस्या भयो, एउटै बनाउनुपर्छ भन्ने छ नि ।
ठाउँ अनुसार संस्कृतिको विकास हुन्छ । हावापानी, समाजको विकास अनुसार संस्कृतिको विकास हुने हो । त्यसैले विविध संस्कृतिको एकीकरण गर्नुपर्छ भन्नु गलत कुरा हो । एउटै संस्कृति बनाउनुपर्छ भन्ने कुराले पहिचानलाई असर पार्छ । सांस्कृतिक विविधता नै मगरको पहिचान हो । संस्कृति एउटै बनाउने भन्ने कुरा विज्ञानलाई मिच्ने कुरा हो । जस्तो कि, लेकमा बस्ने मगरले सुँगुर खाँदैन, सुँगुर नखाने परम्पराको विकास भयो । यसको मतलब के भने जुन ठाउँमा जे उपलब्ध छ । त्यही अनुसार संस्कृति हुन्छ ।
मगर संस्कृतिको बढी हिन्दूकरण भयो भन्ने छ, मौलिकता बचाउन के गर्नुपर्ला ?
अझै पनि मगर समुदायमा मौलिकता कायमै छ । मौलिकता बचाउने उपाय भनेको मौलिकता कहाँ छ ? भनेर खोज्नुप¥यो । सबै प्रकारको संस्कृति एकै ठाउँमा छैन । एउटा चिजको एउटा ठाउँमा छ भने अर्को चिजको अर्को ठाउँमा छ । एउटै मगर बस्तीमा मौलिकता पाउन कठिन छ । जस्तो कि, यानीमाया, धौलागिरि क्षेत्रका मगरहरूको मौलिक संस्कृति हो । जसलाई राष्ट्रियस्तरमा पनि मानिएको छ । यानीमाया भन्ने शब्द पनि मगर भाषाको शब्द हो । त्यस्तै, जीवैमामा, पाल्पा, स्याङ्जाको दक्षिण, पश्चिम क्षेत्रका मगरहरूको मौलिक संस्कृति हो ।


मगर समुदायमा सरै खेल्ने प्रचलन विशेष ठाउँमा मात्र छ । सरै पनि मगर समुदायसँगै सम्बन्धित हो कि होइन भन्ने भ्रम चाहिँ छ । तर, मगरको मौलिक खेल हो । यो धार्मिक रुपमा विकास भएको पाइन्छ । सरायँ भनेको तरबार हो । यो एउटा तरबार नचाएर खेल्ने खेल हो । सरायँ मगरहरूले राज्य सञ्चालन गर्न, राज्य बचाउनका लागि सुरु गरेका हुन् । अहिले खेलको रुपमा विकास भएको छ ।
त्यसैले मौलिकता एक ठाउँमा खोजेर पाइँदैन । बचेर चाहिँ बसेको छ, संरक्षण गर्न खोजेर भने होइन । मगरहरूले आफ्नो पहिचानको खोजीमा उल्टै पहिचान गुमाइरहेको अवस्था छ । यस कुरामा मगर अगुवाहरूले विशेष हेक्का राख्न जरुरी देख्छु म ।
अब मगर भाषाका बारेमा कुरा गरौं, मगर भाषाका विषयमा पनि धेरै खालका कुरा आएका छन्, मगर भाषा पनि तीनथरिका छन्, किन फरक हुन गयो यसरी मगर भाषा ?
भाषाको विशेषता भनेकै गतिशीलता हो । भाषा आफैंमा गतिशील हुन्छ । नेपाली भाषाको अतिक्रमणमा परेपछि मगर भाषामा केही कुरा नेपालीकरण पनि भयो । नेपाली भाषामा पनि मगर भाषा लगियो । दुवै भाषामा दुवैतिरका शब्द पाइनु त्यसको उदाहरण हो । खासगरी, मगर भाषाको मूल एउटै भएपनि लामो समयसम्म सम्पर्क हुन नपाएकाले फरक भएको हो । भाषा परिवर्तन हुन गयो । त्यसमा पनि हाम्रो राज्यसत्ता गुमेपछि पछिका शासकले हाम्रो मातृभाषा बोल्न नपाउने बनाइदिए । एउटाले अर्को भाषा बोलेको नबुझ्ने अवस्था बनाइदियो ।
तीन वटै मगर भाषालाई एउटै बनाउनुपर्छ भन्ने कुरालाई चाहिँ के भन्नुहुन्छ ?
एक आपसमा तीन वटै मगर भाषाबीच निरन्तर सम्पर्क भइराख्यो भने एकीकरण हुन सक्छ । त्यसको अर्थ धेरै हदसम्म बुझिने हुन सक्छ । यताको ठिक र उताको बेठिक भन्ने हो भने त्यसले राम्रो गर्दैन । तीन वटै भाषालाई सम्पर्कयोग्य बनाउन सकेको खण्डमा मात्रै एकीकरण गर्न सकिन्छ । तीन वटै भाषाको अध्ययन गरेर के के मिल्दाजुल्दा छन्, सोही अनुसार सम्पर्क गराउन सकिन्छ ।
भाषा फरक भएका कारणले मगर भाषाको एकीकृत विकास गर्न समस्या भन्ने छ नि ?
तीन वटै भाषाको ध्वनि एउटै हुुनुपर्छ । तीनै क्षेत्रमा बोल्ने भाषाको भाषा विज्ञानको अध्ययन जरुरी छ । आधारभूत कुरा भाषाको संस्कृति हुन्छ । भाषाका लागि संस्कृति पनि महत्वपूर्ण कुरा हो । अर्को कुरा सबै ठाउँको मगर भाषामा व्याकरण वैज्ञानिक पनि छैन । व्याकरण बिस्तारै हराउँदै छ । फरक के छ ? भनेर खोज्दा भाषाका फरकपनहरू फेला पर्न सक्छन् । त्यसको अध्ययनले मात्रै भाषाको विकास गर्न सकिन्छ ।
मगर लिपिको सन्दर्भमा चाहिँ के भन्नुहुन्छ ?
अब लिपिको कुरा गर्दा यसको विकास गर्न त गाह्रो छैन । तर, प्रयोग गराउन गाह्रो छ । अहिले प्रचलित देवनागरी लिपिले प्रतिनिधित्व नगर्ने ध्वनिलाई केही चिह्न दिएर पनि यसलाई नै प्रयोग गरेर जान सकिन्छ । लिपि विकासका सन्दर्भमा अझै अनुसन्धानको खाँचो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार