पोखरा, ३० फाल्गुन ।
आज विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइँदैछ । सन् २००६ देखि मार्चको दोस्रो बिहीबार यो दिवस मनाउन थालिएको हो । यो वर्ष “मिर्गौला स्वास्थ्य सबैका लागि सबै तिर” भन्ने नाराका साथ नेपालमा पनि दिवस मनाइँदै छ । दिवसका अवसरमा पोखरामा सचेतना र्याली सहितको कार्यक्रम गरिएको छ ।
शरीरमा पानीको कमी तथा अनियन्त्रित खानपान र अस्वस्थ जीवनशैलीका कारण बढ्दो मोटोपनसँगै मधुमेह, उच्च रक्तचाप जस्ता समस्याका कारण मानव शरीरको महत्वपुर्ण अंग मिर्गौला जोखिममा परेको चिकित्सकहरुले बताएका छन् ।


पिसाब र रगतको जाँच गरी मिर्गौलाको अवस्थाबारे थाहा पाउन सकिने भन्दै उनीहरुले परीक्षण निकै सस्तो तर, रोग लागिसकेपछि उपचार निकै महँगो रहेकाले बेलैमा सचेत हुन सुझाएका छन् ।
स्वस्थ मानिसले २४ घण्टामा कम्तीमा दुई लिटर पिसाब फेर्नु आवश्यक हुन्छ । तर मिर्गौलामा समस्या भए पिसाब कम हँदै जान्छ र यसको रङ पनि फरक हुन्छ । पिसाबमा फिँज देखिने, जिउ सुन्निने, स्वास फेर्न गाह्रो हुने, रक्तचाप बढ्ने र खानामा रुचि घट्दै जाने जस्ता समस्या देखिए तत्काल मिर्गौला परीक्षण राउनु पर्ने उनिहरुले सुझाएका छन् ।
नेपालमा १२ प्रतिशत मानिसमा मधुमेहको समस्या रहेको र तीमध्ये ३५ देखि ४० प्रतिशतको मिर्गौला खराब रहेको तथ्यांक छ । एक तथ्यांक अनुसार नेपालमा हरेक वर्ष करिब तीन हजार अन्तिम अवस्थाका नयाँ मिर्गौला रोगी थपिने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक १० मध्ये एक जनालाई कुनै न कुनै प्रकारको मिर्गौलासम्बन्धी समस्या हुने गरेको छ ।


सरकारले मिर्गौला रोगीका लागि डायलासिस सेवा निःशुल्क गरेको छ । नेपालका ४३ सरकारी तथा निजी अस्पतालबाट डायलासिस सेवा तथा वीर, त्रिवि शिक्षण अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा मृर्गौला प्रत्यारोपण सेवा उपलब्ध छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार