पोखरा, २१ माघ ।
बढी शुल्क लिएको भन्दै आन्दोलित गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुको आन्दोलन जारी छ । सरकारले तोकेको भन्दा अतिरिक्त शुल्क असुल उपर गरेको उनिहरुले कलेज माथी आरोप लगाएका छन् ।
अतिरिक्त शुल्कका सम्बन्धमा पटक पटक आन्दोलन भएपनि सहमति कार्यान्वयनमा कलेज प्रशासनले वेईमानी गरेको उनिहरुको आरोप छ । आन्दोलित विद्यार्थीहरुले लेखनाथ अर्घौ स्थित कलेजमा तालाबन्दी समेत गरेका छन् । उनिहरुले आज केडिकल कलेज अगाडी प्रदर्शनका साथै मानव साङ्ग्लो बनाएर घेराउ समेत गरेका छन् ।


विशेषगरी २०१५, २०१७ र २०१८ ब्याचका विद्यार्थीहरुले कलेजले अतिरिक्त शुल्क लिएको भन्दै समय मै नसच्चिए कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् । अघिल्लो वर्षको आन्दोलन ताका गरिएको तीनबुँदे सहमति कार्यान्वयन नभएपछि उनिहरुले पुनः आन्दोलन मार्फत दवाव सृजना गरिरहेका छन् ।
शुल्कका सम्बन्धमा सरकारको निर्णय कार्यान्वयन गर्न र विद्यार्थीले तिरेका सम्पूर्ण रकमको बिल तत्काल उपलब्ध गराउन उनीहरुले माग गरेका छन् । चिकित्सा शिक्षालाई धराशायी बनाउने हिसाबले ठगी, निजीकरण, व्यापारिकरण र माफियाकरणले ग्रस्त बनाइएकोमा गम्भिर ध्यानाकर्षण भएको उनिहरुले जनाएका छन् ।
आन्दोलनमा २०१६ ब्याचका विद्यार्थीले पनि ऐक्यवद्धता जनाएका छन् । २०१५ देखि २०१८ सम्म ब्याचका एमबिबिएस विद्यार्थीले वार्षिक डेढ लाख देखि ३ लाखसम्म तोकिएको र ५ वर्षे कोर्षमा झण्डै ८ लाखदेखि १५ लाख रुपैयाँसम्म बढी रकम तिर्नुपरेको उनीहरुको भनाई छ ।
गण्डकी मेडिकल कलेज प्रशासनले भने कलेजविरुद्ध षडयन्त्र भएको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार