पोखरा, वैशाख ।
नेपाली कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष तथा पूर्वमन्त्री रामकृष्ण ताम्राकारको निधन भएपछि सम्पुर्ण कार्यक्रमहरु स्थगीत गरिएका छन् । तीन दिनसम्म शोक घोषणा गरिएको छ । ताम्राकारको निधनलगत्तै कांग्रेसका काठमाडौंमा उपलब्ध केन्द्रीय समितिका पदाधिकारी र सदस्यको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।


बैठकले शोक व्यक्त गर्दै पार्टीका सबै कार्यक्रम ३ दिनसम्म स्थगित गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसको निर्णयसँगै भोलीबाट शुरू हुने भनिएको राष्ट्रिय जागरण अभियान पनि स्थगित भएको छ ।
तत्काललाई जागरण अभियान स्थगित भएपनि अभियानको अर्र्काे मितिबारे छिट्टै निर्णय हुने प्रवक्ता शर्माले बताए । पार्टीका पूर्व पदाधिकारी तथा केन्द्रीय सदस्यको निधन हुँदा तीन दिन पार्टी कार्यालय बन्द गर्ने र पार्टीको झण्डा झुकाउने नीतिकै कारणले समेत कांग्रेसको बुधबारबाट शुरू हुने कार्यक्रम प्रभावित हुने भएको छ । शोकको निर्णय कांग्रेसका देशभरका कार्यालय र कार्यक्रममा लागू हुनेछ ।
रुपन्देहीबाट नेपाली कांग्रेसबाट राजनीति गर्दै आएका ताम्राकार पटक–पटक मन्त्री समेत बनेका थिए । अघिल्लो हप्ता ताम्राकारको स्वास्थ्य स्थिति गम्भीर भएपछि आईसीयूमा भर्ना गरिएको थियो । करीब दुई हप्ताअघि ज्वरो आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
निमोनिया समेत भएका उनको स्थिति अझ गम्भीर भएपछि भेन्टिलेटरमा राखिएको थियो । ललितपुरको अल्का अस्पताल एकान्तकुनामा उपचारको क्रममा उनको निधन भएको हो । ताम्राकार विगत दुई वर्षदेखि क्यान्सरसँग लडिरहेका थिए ।
ताम्राकार विक्रम संवत् २०४८ र ५६ मा रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले स्वास्थ्य मन्त्रालय र उद्योग, वाणिज्य मन्त्रालय सम्हालेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार