पोखरा, जेठ ।
पोखरामा अवैधानिक रुपमा निमार्ण भएको एक होटलको नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी गरिएको छ । पोखरामा मापदण्ड विपरित निर्माण भएको स्विस इन्टरनेश्नल होटल सरोवरको प्रधानमन्त्री ओलीबाट यही जेठ १८ गते शनिबार उद्घाटन गर्ने तयारी गरिएको छ । जनवरी १० तारिख देखि सफ्ट ओपनी गरिएको उक्त होटलको उद्घाटन प्रधानमन्त्रीबाट गर्ने तयारी गरिएको होटलका अध्यक्ष प्रा.डा. भरतराज पहारीले बताए । पोखरा महानगरपालिकाले दिन मिल्ने होटलको तलाको मापदण्ड लिएको बताए । पोखराको लेकसाइडमा भुइ तला सहित १० तले उक्त होटलले पोखरा महानगरपालिकाबाट तीन तला भन्दा माथिको तलाको मान्यता नै नलिइ संचालन भएको अबस्थामा प्रधानमन्त्रीले नै उक्त होटल उद्घाटन गर्ने कुरा बाहिर आए पछि पोखरेलीहरुले यस बिषयमा बहस सुरु गरेका छन्।

उक्त होटलमा करिब १ अर्ब २५ करोड रुपैयाँ लगानी भएको अध्यक्ष पहारीले बताए । अत्याधुनिक प्रविधि तथा वातावरण मैत्रि हुने गरी निमार्णको भएको उक्त होटलको सेवा पाँच तारे होटल बराबरको भएको उनले जनाए । पोखरा महानगरपालिकाका मेयर मानहादुर जिसीले प्रधानमन्त्री जस्तो व्यक्तिले स्थानिय तहसंग सहकार्य नगरी कुनै अवैधानिक रुपमा निर्माण भएको संरचनाको उद्घाटन गर्न नहुने बताए । उनले भने “पोखरामा मापदण्ड विपरित निर्माण भएका होटल तथा अग्ला भवनहरुको महानगरले अब नियमन गर्ने तयारी गरेको छ, मापदण्ड विपरित निर्माण भएको होटलको उद्घाटन गर्न सायद प्रधानमन्त्री आउनु हुदैन होला । ”


पोखरा महानगरपालिकाका योजना शहरी विकास सार्वजनिक निमार्ण शाखा प्रमुख इन्जिनियर शारदामोहन काफ्लेले पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा महानगरको अनुमती विना धेरै घर तथा भवनहरु मापदण्ड विपरित निमार्ण भएकोले त्यसलाई नियमन गर्न तर्फ महानगर लाग्ने बताए । हाल मापदण्ड विपरित निमार्ण भइसकेका घर तथा भवनहरुको पहिलो चरणमा तथ्याङक संकलन गरी घर तथा भवन सुरक्षित छ की छैन भनी एउटा प्राविधिक टोलीले अध्ययन अवलोकन गरे पश्चात अनुमति दिन मिल्नेलाई ३ गुणा राजश्व अशुल उपर गरी अनुमति दिने तयारी भएको प्रमुख इ.काफ्लेले जनाए । उनका अनुसार महानगरले वैशाख अन्तिम साता ३५ दिने सुचना जारी गरी घर नियमित गर्न पोखरेलीलाई आग्रह गरेको छ ।



जग्गाको ग्राउण्ड कभरेजको रेसियो पुगेको आधारमा मापदण्ड पुगेको छ वा छैन भन्ने टुंगो लागेसंगै एक बर्ष भित्र महानगरले महानगर भित्र निर्माण भएका मापदण्ड विपरितका घर तथा भवनको अनुमति तथा निर्माणको सम्पन्न प्रमाण पत्र दिने भएको उनले जनाए । स्थानिय सरकार संचालन ऐन २०७४ को दफा २२ बमोजिम ३ गुणा राजश्व लिएर एक पटकको लागि २०७४ अघि निर्माण भएका घर तथा भवनको हकमा उक्त व्यबस्था लागु गर्न लागिउको उनले जनाए । अन्य मापदण्ड विपरित निमार्ण भएका घर तथा भवनको हकमा सवलीकरण गरी सुरक्षित रेक्ट्रोफिट गर्नु पर्ने प्रमुख इ. काफ्लेले जनाए ।



होटल तथा व्यवसायीक प्रयोजनको लागि ५० प्रतिशतसम्म जमिन खाली छाड्नु पर्ने प्रावधान रहेको उनले बताए । जमिनको अबस्था हेरीकर पोखराको हकमा हाल महानगरले ११ तलासम्म अनमुति दिन सक्ने प्रमुख इ. काफ्लले जनाए । पोखरामा एक अर्ब भन्दा बढी लागतमा निमार्ण भएको पोखरा ट्रेड मलले पनि तीन तलाको अनुमति लियर हाल ५ तला संचालन गरेको छ । पोखरा ट्रेड मलले पनि महानगरको मापदण्ड भित्र पर्ने गरी आफ्नो भवनको फिल्ड भिजिट गर्न महागरलाई निवेदन दिएको छ । महानगरले सार्वजनिक सुचना जारी गरेसंगै मापदण्ड विपरित निमार्ण भएका घर तथा भवनको नियमन गर्न आफ्नो नाम टिपाउनको लागि महानगरले आग्रह गरेको छ।


यसैबिच, उपराष्ट्रपति नन्दबहादु पुन पासाङले गत माघ २ गते पोखराको बुद्धचोकमा मापदण्ड विपरित निमार्ण भएको १० तले होटल टाक्स ईन्टरनेश्नलको उद्घाटन गरेर आलोचित भएका थिए । पोखरामा हालसम्म बैधानिक रुपमा तीन तले अर्थात ३५ फिटसम्म उचाईका घर तथा होटल एवं भवनहरु निमार्णको अनुमति भए पनि मापदण्ड विपरित निमार्ण भएको होटलमा उपराष्ट्रपति जस्तो व्यक्तिले उद्घाटन गर्नु निकै हास्यास्पद भएको पोखरेलीले चर्चा गरेका थिए ।











तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार