पोखरा, १० चैत ।
गण्डकी प्रदेशकै पुरानो, ठूलो एक मात्र सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वेथितीहरुबाट गुज्रिरहेको र यस क्षेत्रका आम सर्वसाधारण नागरिकहरुले ठूलो हैरानी बेहोर्नुका साथै सुलभ स्वास्थ्य सेवाबाट बञ्चित हुन परिरहेको कुरा ध्यानाकर्षण गराउँदै नागरिक समाज पोखरा र राष्ट्रिय सम्पदा संरक्षण समितिका अभियान्ताहरुले समाजिक विकास मन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन् ।


ज्ञापनपत्रमा मेमोग्राफी (स्तन परीक्षण मेशिन) लामो समयदेखि विग्रेको, सिटी स्क्यान लामो समयदेखि विग्रेको, स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको लामो समय भइसक्दा पनि अध्ययन अध्यापन शुरु नभएको तर तलब सुविधा लिइइरहेको, भीसी., डिनले प्राइभेट प्राक्टिस गरिरहेको, जापान नेपाल फाउण्डेशनबाट प्राप्त Clinical Campaign गर्ने, बस संचालनमा नआएको, फोहोरमैला सफाइको लागि बनायएको गेट प्रयोग विहिन रहेको, टोकन सिष्टम व्यवस्थित नभएको, स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी रुपमा लागू हुन नसकेको, पार्किङ व्यवस्थित नभएको, शौचालयमा सरसफाई कमी भएको जस्ता सस्याहरुको समाधानको लागि मन्त्रालयमा अनुरोध गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै सामाजिक विकास मन्त्री नरदेवी पुनले उक्त संस्थामा समस्याहरु धेरै भएको आफूले पनि महसुस गरेको हुनाले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाण्डौमा कारवाहीको लागि पठाउने बताइन् । नागरिकहरुले खेप्नु परेको हैरानीबारे ज्ञापनपत्र मार्फत खबरदारी गरेकोमा उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बोधार्थ दिइएको उक्त ज्ञापनत्रमा नागरिक समाज पोखराका संयोजक विष्णुहरि अधिकारी, राष्ट्रिय सम्पदाका अध्यक्ष एवं नागरिक समाजका पोखराका संस्थापक राम बहादुर पौडेल, नागरिक अभियन्ताहरु इन्द्रकमल मानन्धर, ठाकुर प्रसाद बराल, शशी तुलाचन, कल्याण पन्त, सुनिल पाण्डे र सूर्यनाथ पहारीले हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार