पोखरा, वैशाख ।
सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौँ बैंक खाता राष्ट्रिय अभियानको शुभारम्भ गरेको छ । ज्येष्ठ नागरिक बीमाका साथ ‘समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता’ नाराका साथ यो अभियान थालिएको हो ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अभियानको शुभारम्भ गर्दै आगामी बजेटमा वृद्धभत्ता वृद्धि हुने घोषणा गर्नुभएको हो । प्रधानमन्त्री ओलीले नयाँ वर्ष प्रवेशको दिनलाई पात्रोको पानो मात्र नभएर इतिहास र परिवर्तनको पात्रो पल्टिएको दिनका रुपमा मनाइएको बताउनुभयो ।


उहाँले पहिला पहिला रोगी र बुढाबुढीलाई बीमा नगर्ने नीति हुनु गलत भएको भन्दै बिरामी र अशक्त हुन्छ भनेरै स्वास्थ्य बीमा गरिनुपर्छ भन्नेमा सरकारले स्पष्ट सोचका साथ अगाडि बढेको जनाउनुभयो । उहाँले प्राकृतिक कारणले हुने बिरामी बाहेक केही वर्षभित्र नेपालीलाई आरोग्य र स्वस्थ्य नेपालमा रुपान्तरण गर्न लागि पर्ने बताउनुभयो । अबको सम्पूर्ण काम आधुनिक नेपाल निर्माणतर्फको यात्रामा केन्द्रित हुने भन्दै उहाले कृषि, ऊर्जा, शिक्षा, स्वास्थ्यका क्षेत्रमा अत्यन्त गतिका साथ काम भइरहेको बताउनुभयो ।
त्यस्तै उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्यको अधिकार जीवनको अधिकार भएकाले आधारभूत मानवअधिकारका रुपमा यसलाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले कुनै पनि नागरिकले पैसाको अभावमा उपचार पाउनबाट वञ्चित हुन नपरोस् भन्नेमा सरकार सचेत रहेको बताउनुभयो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य बीमा बोर्ड, नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एशोसिएशनले सो अभियान शुरु गरेको हो । कार्यक्रममा ज्येष्ठ नागरिकका लागि रु एक लाखसम्मको स्वास्थ्य बीमा घोषणा गरिएको छ । सो बीमाको नेपाल सरकारले प्रिमियम तिर्नेछ । हाल मुलुकका ७५३ स्थानीय तहमध्ये ७१३ तहमा संस्थागत वित्तीय पहुँच पुगेको छ भने चालू आर्थिक वर्षको अन्त्यसम्मका सबै तहमा वित्तीय पहुँच पुग्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार