पोखरा, चैत्र ।
सरकारले विश्वकै सर्वोच्च हिमशिखर सगरमाथाको उचाई मापन गर्ने भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्राविधिक टोली पठाएर सगरमाथाको उचाई नाप्न लागेको हो । उक्त प्राविधिक टोलीलाई प्रधानमन्त्री केपी ओली र विभागीय मन्त्री पद्मा अर्यालले बुधबार बालुवाटारमा विदाइ समेत गर्नुभयो । टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम,नापी अधिकृत रबिन कार्की,सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल हुनुहुन्छ ।


टोलीले करिव एक महिनामा सगरमाथाको उचाइ नापेर फर्कने योजना छ । विदाइ कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ नाप्न लागिएकाले यस टोलीको प्रतिवदेन आधिकारिक हुने बताउनुभयो । नेपाल सरकारको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ मापन हुन लागेको भन्दै उहाले सेन्टीमिटर सहितको उचाइ नापेर ल्याउन निर्देशन दिनुभयो ।
त्यस्तै मन्त्री अर्यालले सरकारको तर्फबाट सगरमाथाको उचाइ मापन कार्य समयमा नै सकिने विश्वास व्यक्त गर्नुभयो । सरकारले सगरमाथाको उचाई नाप्न लागेको यो पहिलोपटक हो । सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटरका रुपमा अन्तराष्ट्रिय चर्चा रहेपनि यस विषयमा समय समयमा विवाद उठ्ने गरेको छ ।
कार्यक्रममा मन्त्रालयका तर्फबाट प्रादेशिक विभाजन अनुसारको नेपालको प्रशासनिक नक्सा पनि प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार