पोखरा, २८ फाल्गुन ।
गण्डकी मेडिकल कलेजले त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै उक्त कलेजमाथि अनुगमन गरी कारवाही गर्न माग गरिएको छ ।


एमबिबिएसमा अध्ययनरत विद्यार्थीलाई आर्थिकरुपमा ठगी गर्नुका साथै आफूहरुलाई परीक्षाबाट बञ्चित गराएकाले ४० दिनदेखि विद्यार्थीले आन्दोलन गर्दै आएको मंगलबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो कलेजमा अध्ययनरत पीडित विद्यार्थीले कलेजले प्रतिविद्यार्थी रु आठ लाखदेखि रु १८ लाखसम्म चर्को शुल्क उठाएको र सोअनुसार अध्यापन तथा शैक्षिक सुविधा नदिएको तथा एमबिबिएसका ८६ विद्यार्थीलाई परीक्षा दिनबाट बञ्चित गरेको बताए । कलेजमा एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी अनिल सिन्हाले आफूहरुले कलेजको सञ्चालक समितिका अध्यक्षसहित ११ जनामाथि ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीमा मुद्दा दर्ता गरेको जानकारी दिनुभयो ।
उहाँले आफूहरुले ४० दिनदेखि आन्दोलन गर्दै आए पनि सरकार तथा कलेजले कुनै सनुवाइ नगरेको भन्दै ८६ विद्यार्थीले परीक्षा दिन नपाएको उल्लेख गर्नुभयो । पाँच सय विद्यार्थीले अध्ययन गर्दै आएको सो कलेजमा ९० विद्यार्थी पीडित अवस्थामा रहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार