पोखरा, १० चैत्र ।
पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान) मा विभिन्न रोगहरु पहिचान गर्ने अत्याधुनिक एम.आर.आई. मेसिल संचालनमा आएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको सहयोगमा उक्त मेसिन हस्पिटलमा उपलब्ध भएको प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धि बहादुर थापाले बताए ।
करिब १० करोडको लागतमा उक्त मेसिन हस्पिटलमा भित्रिएसंगै पोखराबाट धेरै रोगहरुको पहिचान गर्न सकिने भएको उपकुलपति प्रा.डा. थापाले बताए । उनले भने “ प्रतिष्ठानमा एम.आर.आई मेसिन आवश्यक भएकोमा हामीले माग गरे अनुसार प्राप्त भएको छ, अब यहाँ सिटि स्क्यान मेसिन विग्रिएर थन्केकोले पुनः अर्को सिटि स्क्यान मेसिन आवश्यक छ । ” गरिब देखि मध्यम बर्गका धेरै जनताहरु स्वास्थ्य सेवा लिन सामुदायिक हस्पतालमै आउने हुदा उनीहरुलाई समय अनुसारको सेवा सुविधा दिन आफुहरु कटिवद्ध भएको उनले बताए ।


उक्त मेसिन प्रतिष्ठानमा भित्रिएसंगै यस गण्डकी प्रदेशका स्थानियलाई धेरै सहुलिय हुने भएको प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्यले बताए । उनका अनुसार प्रति व्यक्तिको एम.आर.आइ. गरेको न्यूनतम ५ हजार देखि ११ हजारसम्मको शुल्क लाग्ने छ । तर निजी हस्पतालमा भने प्रति व्यक्ति एम.आर आई. गरेको ९ हजार देखि २२ हजारसम्म लिने गरेको पाइन्छ । बिषेश गरी नसा सम्बन्धि, मांसपेशीका लगायतका बिरामीहरुको लागि उक्त मेसिन प्रयोग हुने भएको निर्देशक डा. आचार्यले बताए । सिटि स्क्यान मेसिनले स्क्यान गर्न नसकेको भागलाई उक्त मेसिनले स्क्यान गर्ने भएको उनले जनाए ।
फिलिप्स कम्पनी जापानको प्रविधिमा निमार्ण भएको उक्त मेसिनको एक समारोहका बिच आइतबार नेपाल सरकारका उप–प्रधान तथा स्वास्थ्य तथा जनसङख्या मन्त्री उपेन्द्र यादवले उद्घाटन गरेकाहुन् । कार्यक्रममा बोल्दै उनले सरकारी इकुपमेन्ट छिट्टै बिग्रिने समस्या धेरै ठाँउमा रहेको उल्लेख गर्दै पोखरामा भित्रिएको उक्त मेसिन दिगो रुपमा संचालन गर्न प्रतिष्ठानलाइ निर्देशन दिएकाछन्। उनले भने “ हामीसंग स्वास्थ्य क्षेत्रमा धेरै श्रोत साधनहरु कमि छ तर पनि हामीसंग भएको श्रोतसाधनलाई अधिकरुपमा प्रयोग गरी जनताको स्वास्थ्य सेवामा लाग्नु पर्छ । ”
देशमा स्वस्थ्यको निकै दैनिय अबस्था रहेको बताउदै उप–प्रधान मन्त्री यादवले बजेटको कारण स्वास्थ्य क्षेत्रमा धेरै सुधार गर्न चाहेर पनि नसकेको जनाए । उनले भने “ स्वास्थ्य क्षेत्रमा हाल बजेटको ४.४ प्रतिशत मात्र बजेट विनियोजन हुने गरेको छ, जुन बजेटको ४ प्रतिशत प्रशासनिक कर्मचारीमा खर्च हुन्छ, बाँकी ०.४ प्रतिशतको बजेटले करिब ३ करोड जनताको स्वास्थ्य अबस्था कस्तो होला । ” उक्त बजेटको आधारमा नेपाली जनताको स्वास्थ्य क्षेत्रमा पहुच पुराउन नसकिने उनले दाबी गरे ।
आगामी बजेट तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा बजेट बृद्धि गर्न राष्ट्रिय योजना आयोग देखि अन्य मन्त्रालयहरुमा माग गरेको उप–प्रधान मन्त्री यादवले जनाए । देशमा हाल १ हजार ४ सय जना सरकारी चिकित्सकको दरवन्दी रहेको बताउदै उनले देशमा हाल कबिर २१ हजार चिकित्सकको माग रहेको जनाए । अझै पनि ९० प्रतिशत जनताहरु सामुदायिक हस्पतालमै पुग्ने गरेको उप–प्रधान मन्त्री यादवको भनाइ थियो । नमुना प्रतिष्ठान बनाउन सवैको साथ र सहयोग आवश्यक भएको उनले बताए । काठमाण्डौं पछिको स्वास्थ्य क्षेत्रको हर्बको रुपमा पोखरामा विकसित गर्नुपर्ने उप–प्रधान मन्त्री यादवको भनाई थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार