पोखरा, चैत । कास्कीको रुपा गाउँपालिकाको आयोजनामा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुका लागि ३ दिने नेतृत्व तथा व्यवस्थापन तालिम शुक्रबारदेखि सुरु भएको छ ।

गाउँपालिकाभित्रका ३२ ओटा सामुदायिका विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका ६४ जनाका साथै गाउँ कार्यपालिकाका सदस्य तथा वडा अध्यक्षहरुको सहभागिता रहेको सकारात्मक विद्यालय व्यवस्थापन तथा प्राज्ञिक नेतृत्व विकास तालिमको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले उद्घाटन गरेका थिए ।

अध्यक्ष ओझले गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताए । शिक्षामा सबैभन्दा बढी लगानी गर्ने जनाउँदै ओझाले विकासका मामलामा सम्पूर्ण दलहरु एकै दल भएको धारणा राखे । शिक्षाको विकासबिना अन्य कुनै पनि विकास सम्भव नहुने ओझाको भनाइ थियो । शैक्षिक विकासका लागि कसैले पनि ब्याक बाइटिङ गर्न नहुने भनाइ ओझाले राखेका थिए ।

शिक्षा शाखा प्रमुख भोजराज न्यौपानेको संयोजनमा भएको तालिममा रामचन्द्र लामिछाने र राधाकृष्ण लामिछानेले सहजीकरण गरेका छन् । कार्यक्रममा चन्द्रप्रभा माविका व्यवस्थापन समितिका अध्यक्ष सवबक्स मियाँ, वडा नं. ७ का वडा अध्यक्ष दयासागर सुवेदीलगायतले शुभकामना राखेका थिए । तालिममा विद्यालयमा शैक्षिक गुणस्तर उकास्नका लागि विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले खेल्नुपर्ने भूमिकामाथि चर्चा गरिएको थियो । तालिम आइतबारसम्म सञ्चालन हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार