बागलुङ, १० चैत ।
धौलागरी क्रिकेट क्लबले आयोजना गरेको प्रथम धौलागिरी च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । आईतबार भएको प्रतियोगिताको फाइनल खेलमा पाङ क्रिकेट क्लबलाई ६६ रनले पराजित गर्दै आयोजक धौलागिरी क्रिकेट क्लबले उपाधि चुमेको हो । १ सय ६५ रनको लक्ष्य पछ्याएको पाङले १८.१ ओभरमा अल आउट हुँदै ९८ रनमा समेटियो । उसका लागि विष्णु सुवेदीले २१, परशुराम सुवेदीले २० र ईश्वर रेग्मीले १७ रन बनाउनु बाहेक अन्य खेलाडीले सम्झनालायक व्याटिङ्ग गरेनन् ।


धौलागिरीका लागि सन्देश खड्का र तेजेन्द्र घर्तिले समान २–२ र अभिनास सिंह, राजु थापा, गणेश केसी र सन्देश छन्त्यालले १–१ विकेट हात पारे । त्यसअघि टस जितेर पहिला पहिला ब्याटिङ गरेको धौलागिरीले पुरैओभर खेल्दै ९ विकेट गुमाएर १ सय ६४ रन जोडेको थियो । धौलागिरीको लागि कप्तान दिपक कुँवरले ३४, पासिङ पुनले २८ र विजय विकले २५ रन बनाएका थिए । यस्तै पाङका हरि रिजालले ३ विकेट हात पारे ।
प्रतियोगिताको विजेता आयोजकले ३५ हजार रुपैयाँ हात पा¥योभने उपविजेतामा चित्त बुझाएको पाङले १५ हजार रुपैयाँ प्राप्त गर्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पाङ क्रिकेट क्लबका कप्तान कमल रिजाल, उत्कृष्ट व्याट्सम्यान धौलागिरी क्रिकेट क्लबका किसान खड्का र उत्कृष्ट बलर सन्देश खड्का भएका थिए । प्रतियोगिताका विजेता र उपविजेता टिमलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धन बहादुर परियारले पुरस्कार वितरण गर्नुभएको थियो ।
पुरस्कार वितरणपछि बोल्दै जिल्ला खेलकुद विकास समिति बागलुङा अध्यक्ष परियालले क्लबहरुले आयोजना गर्ने प्रतियोगिताबाट पनि नयाँ खेलाडीहरु उत्पादनमा सहयोग पुग्ने बताउनुभयो । उहाँले पछिल्लो समयमा नेपालमा क्रिकेट खेल प्रति खेलाडीहरुको बढ्दो रुचि भएकाले जिल्लामा क्रिकेटको लागि खेलमैदान निर्माणको काम अगाडी बढेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार