पोखरा, जेठ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार लोकतन्त्र तथा गणतन्त्र मास्न तर्फ लागि परेको आरोप लगाउनुभएको छ । बुधबार गणतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेसले काठमाडौँको शान्ति बाटिकामा गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेको देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार लोकतन्त्र र गणतन्त्रकै विपक्षमा देखिएको बताउनुभएको हो । प्रधानमन्त्री ओलीलाई आफ्नै मन्त्रीहरुमाथि विश्वास नरहेको र त्यसले शासन व्यवस्था नै खतरामा परेको देउवाले आरोप लगाउनुभयो । वर्तमान सरकारले विधेयकहरु मार्फत सञ्चार जगत र मानवअधिकार आयोगमाथि नियन्त्रण कायम गर्न लागि परेको देउवाले बताउनुभयो । उहाले सञ्चार र मानवअधिकारसँग सम्बद्ध क्षेत्रमाथिको नियन्त्रणको अर्थ लोकतन्त्र तथा गणतन्त्रमाथिकै नियन्त्रण रहेको तर्क गर्नुभयो । देउवाले सरकारको गतिविधिले गर्दा फेरि लोकतन्त्र एवम् गणतन्त्रका लागि लड्नु पर्ने अवस्था आउन सक्ने भन्दै तयार रहन कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेसको अगुवाईमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउने दायित्व पनि कांग्रेसकै भएको बताउनुभयो । सत्ताधारी दलका नेताहरुले संघीयता, गणतन्त्र र समाबेशीमा बिश्वास नगर्ने भएकोले प्रतिपक्षमा भए पनि प्राप्त यस्ता उपलब्धीलाई संस्थागत गर्ने मूल दायित्व कांग्रेसको भएको उहाको भनाई छ । कार्यक्रमअघि काग्रेसले प्रभातफेरीको आयोजना गरेको थियो । शान्ति बाटिकाबाट शुरु भएको प्रभातफेरी, जमल, असन, इन्द्रचोक, नयाँ सडक हुँदै रत्नपार्कमा आएर सम्पन्न भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रका संस्थाहरु जनताद्वारा, जनताकालागि, जनताले नै निर्माण गरेको बताउनुभएको छ । गणतन्त्र दिवशको अवसरमा बुधबार सैनिकमञ्च टुँडिखेलमा आयोजित बिशेष कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले जनताको अभिमतको धरातलमा खडा भएका यी संस्थाहरुको सम्मान हुँदा मात्रै जनताको सम्मान हुने समेत बताउनुभयो । गणतन्त्र आएको दिनलाई नेपाली जनताले वि.सं. १९९७ सालभन्दा पहिलेदेखिको अभिष्ट पूरा भएको दिनको रुपमा स्मरण गर्नुपर्ने धारणा पनि राख्नुभयो । प्रधानमन्त्री ओलीले ११ बर्ष अघि आजकै दिन नेपालमा जनताले गणतन्त्र स्थापना गरेर राजतन्त्रलाई इतिहासमा सीमित गर्ने सफलता प्राप्त गरेको स्मरण गर्नुभयो । प्रधानमन्त्री ओलीले गरिवी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन नसक्ने भन्दै समाजलाई समृद्ध बनाउनका लागि सुशासन र विकासलाई प्राथमिकतामा राखनुपर्ने जिकिर गर्नुभयो । विगत एक वर्षको अवधिमा सरकारले सुशासन र विकासका लागि अवरोध पु¥याउने र आजको परिवेशमा असान्दर्भिक ठहरिएका कतिपय नीति, विधि र संरचनाहरु परिवर्तन, परिमार्जन र खारेज समेत उहाको भनाई छ । टुँडिखेलमा सरकारले आयोजना गरिएको विशेष कार्यक्रमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले कवाज प्रदर्शन गरेका थिए । त्यसैगरी विभिन्न समुदायले पनि आ(आफ्ना सांस्कृतिक प्रदर्शनी प्रस्तुत गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङले समुदायसंग चिया कार्यक्रम गरेको छ । जिल्ला प्रहरीले सो कार्यक्रम अन्र्तगत विराटनगर महानगरपालिकामा रहेर विभिन्न संचारमाध्यममा आबद्ध संचारकर्मीसंग चियापान कार्यक्रम गरेको छ । जिल्ला प्रहरी कार्यालयको सभाहलमा आयोजना गरिएको कार्यक्रममा दुइ दर्जन बढी पत्रकार र संचारकर्मी सहभागि भएका छन । सो अवसरमा बोल्नुहुंदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले प्रहरी सेवालाई थप जनमैत्री बनाउने अवधारणा अनुसार समुदायसंग चिया कार्यक्रम संचालनमा रहेको बताउनुभयो । उहांले नागरीक, प्रहरी र सरोकारवालाबीचको समधुर र समन्वयात्मक सम्बन्धले शान्ति सुवब्यवस्था कायमगर्न र अपराध न्युुनिकरणगर्न सघाउ पुग्ने विचार ब्यक्त गर्नुभयो । सो अवसरमा शान्तिसुरक्षाको अवस्था,प्रहरीले समुदायलाई लक्षितगरी संचालन गर्दै आएको कार्यक्रमका बिषयमा समेत चर्चा परिचर्चा गरिएको थियो । कार्यक्रममा मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठ सहित प्रहरी अधिकृतहरुको सहभागिता थियो ।









तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार