गाँउको विकास यो एक असामान्य विषय हो । यसलाई सामान्य गफको विषय बनाईयो भने माटोको श्राप लाग्छ । मैले यसअघि नै भनिसकेको छु, कि गाँउ कसैले बनाउनै पर्दैन । हामीले हाम्रा घरहरुलाई सुन्दर बनाउन सक्यौ भने टोल बन्ने छ । टोलहरु सुन्दर भएभने सिंगो गाँउ नै सुन्दर बन्नेछ ।
सरसफाई सभ्यताको पहिलो शर्त हो । सरसफाई विनाको सभ्यता कसैले कल्पना गर्छ भने त्यो कोरा कल्पना मात्र हुनसक्छ । झुपडि भित्र सुन्दर मनहरु हुर्किरहेका छन् भन्ने विषयको हेक्का हामिले राख्न सकिरहेका छैनौ । साँच्ची कै हामिले त्यसको पहिचान गर्न सकिरहेका छैनौ । र, पटक पटक पश्चतापको भुमरीमा हामि पिरोलिनु परिरहेको छ ।
भौतिक विकास र पुर्वाधारको प्रर्याप्ता दोस्रो विषय हो । सभ्यताले विकासको पहिचान दिन्छ र दिन सक्ने सार्मथ्य राख्दछ । तसर्थ सवैभन्दा पहिले हामी युवाहरु एकिकृत रुपमा सभ्यता स्थापित गर्ने अभियानमा जुट्नु आवाश्यक छ ।
अफसोच, हाम्रा घरभरि मानिसहरु छन्, तर सामाजिक भावना विकासको स्तर असाध्यै न्युन छ, आत्मकेन्द्रित सोचले प्रेरित, व्यक्ति भन्दा माथी उठ्न नसकेका ति विचार र मै खाउ मैलाउको स्वाभावले गाँउ विलकुल कुरुप देखिन्छ ।

हामीले देश र दुनियाँ घुम्दा पनि परिवारमा सामाजिक भावनाको बिजारोपण गर्न सकेनौ । साँध र सिमानाको लडाँइ अन्त्य गर्न सकेनौ, योगदानको पाठ सिकाउन सकेनौ, पाप र पुण्यको शक्ति स्थापित गर्न सकेनौ, हो हामीले हाम्रो गाँउमा यि र यस्तै यावत मानविय संस्कारको प्रवद्र्धन गर्न सकेनौ । यि सवथोकका लागि विलम्व भैसकेको छ । तर, पनि जिम्मेवारी यिनै काँधहरुले बोक्नु पर्दछ ।
हो, गाउँमा दुख छ, साँच्ची कै दुख छ । एक गाग्रो पानीका लागि आज पनि आमाले कुवा खोस्रनु परेको छ । एक मुठि घाँसका लागि ज्यानको बाजि लगाएर भिरमा झुण्डिनु परेको छ, एक थान दाउराका लागि खोल्सा खोल्सा धाउनु परेको छ । यि अकाट्य सत्य हुन् । हामीलाई सडक चाहिएको छ, हामीलाई भरपर्दो संचारको सुविधा चाहिएको छ, हाम्रा बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा चाहिएको छ, अझै महत्वपुर्ण हामीलाई असल नागरिक चाहिएको छ । असल नेतृत्व चाहिएको छ । हो, साच्ची कै असल अभिभावक चाहिएको छ ।
अन्तमा, के हामी संकल्प गर्न सक्छौ ? मेरो घर म आफै बनाउछु । मेरो टोल म आफै बनाउछु । र, प्यारो गाँउलाई म साँच्ची कै स्वर्ग बनाउछु ।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।
जयहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार