पोखरा, वैशाख ।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियान देशभर एकैसाथ सुरु भएको छ । अभियानको शुभारम्भ गर्दै सभापति शेरबहादुर देउवाले कुनै प्रकारको तानाशाही व्यवस्था काङ्ग्रेसलाई मान्य नहुने स्पष्ट पार्नुभयो ।
सभापति देउवाले राणा शासन र राजा फालेका काङ्ग्रेसलाई कुनै प्रकारका तानाशाही व्यवस्था मान्य हुन नसक्ने बताउनुभएको हो । सभापति देउवाले प्रधानमन्त्रीले संसद्मा गैरसंसदीय शब्द प्रयोग गर्दा पनि सभामुख निरिह बनेर बसेको आरोप लगाउँदै संसद् विपक्षको भएको र सरकार सत्तापक्षको भएका सदनमा विपक्षीले बोल्न पाउनुपर्ने तर्क गर्नुभयो ।


सरकारको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ उल्लेख हुनु संविधानको मर्म र भावनाविपरीत भएको बताउँदै उहाँले जागरण अभियान मार्फत् सरकारको गलत गतिविधि बारे आम जनतासमक्ष लैजानुपर्नेमा जोड दिनुभयो । स्थानीय तहबाट केन्द्रीय सदस्य प्रतिनिधि भएर आउने व्यवस्थाबारे पार्टीभित्र छलफल गर्ने सभापति देउवाले बताउनुभयो ।
यता पोखरामा पनि उक्त अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री पुर्ण बहादुर खड्काले जमिन भरि कांग्रेसका झण्डाहरु फहराउने वातावरणको सृजनामा लाग्न नेता तथा कार्यकर्ताहरुलाई अपिल गर्नुभयो । बुधबारबाट शुरु भएको पहिलो चरणको जागरण अभियान जेठ २५ गतेसम्म देशभर चल्नेछ । दोस्रो चरणको अभियान भदौ २४ देखि असोज ७ गतेसम्म र तेस्रो चरणको अभियान पुस ७ देखि १६ गतेसम्म देशभर चल्ने काङ्ग्रेसले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार