विराटनगर, चैत्र ।
मोरङको कटहरी गांउपालिकामा आजबाट अध्यक्ष कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु भएको छ । गांउपालिकाको वडानम्बर ४ को खेल मैदानमा शुरु भएको प्रतियोगिताको नेपाली कांग्रेसका नेता भक्तिनाथ माझी र कटहरी गांउपालिकाका प्रमुख रामकुमार कामतले संयुत्तरुपमा उदघाटन गर्नुभयो ।


सो अवसरमा बोल्नुहुंदै प्रमुख कामतले खेलको माध्यमबाट कटहरीलाई चिनाउने प्रयास स्वरुप प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहांले गांउपालिकामा ब्यवस्थित खेल मैदान नभएका कारण खेलाडीलाई समस्या भइरहेको बताउनुहुंदै आगामी बजेटमा खेल मैदानकालागि बजेट बिनियोजन गरिने जानकारी दिनुभयो ।
कटहरी गांउपालिका खेलकुद समितिको आयोजनामा शुरु भएको प्रतियोगिताको समुह ‘क’ मा एक्सपर्ट क्रिकेट टीम,जहदा गांउपालिका, धनपालथान गांउपालिका, बुढीगंगा गांउपालिका, रंगेली नगरपालिका, सुनबर्षी नगरपालिका र बिराटनगर महानगरपालिका रहेका छन ।
यस्तै समुह ‘ख’ कटहरीको वडानम्बर १ देखि ७ सम्मका वडाहरु रहेको आयोजक समितिका अध्यक्ष गोकुल भट्टराईले जानकारी दिनुभयो । चैत ३० गते हुने प्रतियोगिताको फाइनलमा बिजयी हुने टीमलाई नगद ५१ हजार र उपबिजेता हुने टीमलाई नगद २५ हजार र कप प्रदान गरिने जनाइएको छ ।
आजबाट प्रतियोगिता शुरु भएपनि पहिलोदिनकालागि निर्धारण गरिएको एक्सपर्ट क्रिकेट टीम र रंगेली नगरपालिकाको टीम बीचको खेल बर्षाको कारण रद्ध भएको छ । भोलीदेखि निरन्तर खेल हुने आयोजक समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार