पोखरा, जेठ ।
राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना १२०० मेघावाट कै बनाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले डिपिआर बमोजिम बुढीगण्डकी जलविद्युत आयोजना १२०० मेघावाट कै बनाउन उर्जा मन्त्रालयलाई निर्देशन दिएको हो । त्यस्तै बैठकले गोरखा र धादिङ जिल्लामा पर्ने आयोजना प्रभावित आरुघाट, आर्खेत र खहरे क्षेत्रको २४ सय रोपनी जग्गाको मुआब्जा तत्काल बितरण गरी निर्माण कार्य शुरु गर्न पनि निर्देशन दिएको छ ।

बैठकमा उर्जामन्त्री वर्षमान पुनले पनि बुढीगण्डकी आयोजना १२ सय मेघावाट कै बनाउने बताउनुभयो । यसअघि उर्जामन्त्री पुनले बुढीगण्डकीलाई १२ बाट घटाएर ९ सय मेघावाटको बनाउने बताउँदै आउनुभएको थियो । मन्त्री पुनले मुआव्जाको बिषयलाई सम्बोधन गर्दै सरकार अघि बढेको धारणा राख्नुभयो । आयोजनाको आर्थिक मोडालिटीका बारेमा पनि थप अध्ययन भइरहेको जानकारी दिनुभयो । बैठकमा समिति सदस्यहरुले कुनै पनि बहानामा उक्त आयोजनाको निर्माण कार्य नरोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो । यता, बुढीगण्डकी लगायतका ४ जलविद्युत् आयोजनालाई २५ अर्ब रुपैंयाभन्दा बढी बजेट विनियोजन गरिएको छ । उर्जा क्षेत्रमा आगामी वर्ष ८३ अर्ब ४९ करोड रुपैंया खर्च गर्ने लक्ष्य सरकारले लिएको छ ।













तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार