काठमाण्डौ, ०७ चैत्र ।
सरकारले प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई हतियार बिसाइ वार्तामा आउन आग्रह गरेको छ । मन्त्रीपरिष्द बैठकका निर्णय सार्वजनिक गर्न बिहिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार वार्ता गर्न सधैँ तयार रहेको तर वार्ताका नाममा विप्लव समूहलाई थप मजबुद हुने समय भने नदिने बताउनुभयो ।


उहाले कुनै असन्तुष्टि छ भने शान्तिपूर्ण राजनीति र वार्ताबाट सम्बोधन गर्न सकिने जिकिर गर्नुभयो । विप्लव समूहले हतियार बिसाउँदै संविधान स्वीकारेर आए वार्ताका लागि तयार रहेको उहाको भनाई छ । हतियार कुनै पनि कुराको निकास नभएको भन्दै उहाले सरकारको शब्दकोषमा मार्ने भन्ने कुरा नभएको र भए पनि त्यसलाई हटाउन चाहेको जिकिर गर्नुभयो । सरकारले मृत्युदण्डको व्यवस्था शान्ति चाहने भएरै नगरेको भन्दै उहाले राजनीतिक मैदान खाली रहेकाले संविधान स्वीकारेर शान्तिपूर्ण राजनीतिमा आउन अपिल गर्नुभयो ।
मन्त्रीपरिषद् बैठकले जयनगर–जनकपुर–बर्दिवास रुटका लागि नेपालको आफ्नै रेल खरिद गर्न ६४ करोड ४५ लाख बजेट छुट्याउने निर्णय गरेको छ । प्रवक्ता बास्कोटाले रेल किन्न प्रारम्भिक बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । त्यस्तै बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराईलाई नियुक्त गरेको छ । बैठकले जलस्रोतको उपयोग, व्यवस्थापन र नियमन सम्बन्धी विधेयक तर्जमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ भने प्रमाण ऐन २०३१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिइएको बताउनुभएको छ ।
मन्त्रीपरिषद् बैठकले चिकित्सकीय कानुनीसेवा सञ्चालन निर्देशिका, २०७५ , पत्रकार निकोप स्थापना तथा सञ्त्रालन निर्देशिका, २०७४, स्वीकृत गरेको छ । त्यस्तै औद्योगिक व्यवसाय नियमावली, २०७५,कर्जा सुरक्षण (पहिलो संशोधन) नियमावली, २०७५, नेपाल पत्रकार महासंघ (चौथो संशोधन) विधान, २०७३ र औद्योगिक ग्राम घोषणा तथा सञ्चालन सम्बन्धी कार्य्विधि, २०७५ स्वीकृत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार