काठमाण्डौ, जेठ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले े मिडिया काउन्सिल विधेयकको विषयमा नपढिकन टिप्पणी नगर्न आग्रह गर्नुभएको छ । रेडियो अन्नपूर्णको ५ औं वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाले विधेयकले लोकतन्त्र नै खतरामा पारेको भन्ने टिप्पणी गलत भएको समेत बताउनुभयो । विधेयकले मिडियालाई स्वनियमनको अधिकार दिएको उहाले बताउनुभयो । एउटा अध्यारो कोठामा बसेर लोकतन्त्र बचाउन नसक्नेहरुले विधेयकको विषयमा अफवाह फैलाएको उहाको भनाई छ । उहाले पत्रकारिता तथ्यकारिता भएको भन्दै आशंकाकारितालाई निरुहात्सित पार्नुपर्ने उल्लेख गर्नुभयो । वार्षिकोत्सवको अवसरमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई नेपाल दीर्घ साधना सम्मान–२०७६’ ले सम्मान गरिएको थियो ।


सरकारले संसदमा प्रस्तुत गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा आन्दोलन गर्दे आएको नेपाल पत्रकार महासंघले बिभिन्न दलका नेताहरुसंग छलफल गरेको छ । मंगलबार काठमाडौंमा भएको छलफलका क्रममा सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुले मिडिया काउन्सिल विधेयक संशोधन गरेरमात्र पारित गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनीहरुले प्रेस जगतलाई नियन्त्रण गर्नेगरि बिधयेक अघि बढ्न नहुनेमा पनि जोड र्दि । कार्यक्रममा नेकपाका नेता दिनानाथ शर्माले मिडिया काउन्सिल विधेयक राष्ट्रियसभा सचिवालयमा दर्ता भएको जानकारी गराउँदै यसबारे पत्रकार महासंघलगायत सरोकारवालापक्षसँग छलफल गरेरमात्र अघि बढाइने स्पष्ट पार्नुभयो । राष्ट्रियसभाले लोकतन्त्रको मूल्य, मान्यताविपरीत कुनैपनि कानुन स्वीकार नगर्ने उहाको भनाई छ । त्यस्तै नेपाली कांग्रेसका सांसद पुष्पा भुसालले सन्चारमाध्यमलाई नियन्त्रण र संकुचन गर्ने काम कुनै हालतमा स्वीकार्य नहुने बताउनुभयो । कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुको विकल्प नरहेको बताउनुभयो । मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा दोस्रो चरणको आन्दोलनमा रहेको महासंघले पछिल्लो समय निरन्तर छलफल चलाउदै आएको छ ।


प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा द्धिपक्षीय महत्वबारे छलफल हुने भएको छ । प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहण कार्यक्रममा सहभागी हुन जाँदा द्धिपक्षीय महत्वबारे छलफल हुने जानकारी दिनुभयो । प्रधानमन्त्री ओली बिहीबार दिउँसो भारत जादैहुनुहुन्छ । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सल्लाहकार डा. भट्टराईले बिहीबार साँझ हुने सपथग्रहणमा सहभागी भएर ओली भोलिपल्ट (शुक्रबार) स्वदेश फर्कने कार्यक्रम रहेको जानकाी पनि दिनुभयो । फरक प्रसँगमा उहाले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) ले तयार पारेको प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले छिट्टै बुझ्नेपनि जनाउनुभयो । त्यस्तै भारतका लागि पूर्व नेपाली राजदुत डा. दुर्गेशमान सिंहले भारतमा प्रचण्ड बहुमतका साथ भाजपाको पूनरोदय भएकोले प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल नीतिलाई निरन्तरता नै दिने बताउनुभयो । भारतमा मोदीको उदयसँगै नेपाल–भारत सम्बन्ध राजनीतिक तहमा समेत बलियो भएको भन्दै उहाले यसले दुवै देशलाई हित गरेको पनि बताउनुभयो । उहाले विगतमा दुई देशबीच भएका सम्झौताहरुलाई हल्काफुल्का रुपमा लिईने गरेका भएपनि अहिले ती सम्झौताहरुप्रति नेपालले आफ्नो चासो देखाउन थालेको र भारतलेपनि चिन्ता लिएको जिकिर गर्नुभयो । नेपाल–भारत सम्बन्धमा अहिले बुद्धिष्ट, जानकीलगायतका सर्किटहरु सञ्चालनमा आउने भएकोले यसलेपनि दुई देशबीच जनस्तरमा सम्बन्ध बलियो बनाउने उहाको भनाई छ ।


नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई वार्तामा ल्याउन सरकारलाई सुझाव दिनुभएको छ । नेपाल तरुण दलले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा कांग्रेस नेता खाँडले चन्द समूहलाई वार्तामा ल्याउने वातावरण बनाउन सरकारलाई सुझाव दिनुभएको हो । उहाले वार्ताको वातावरण बनाउन सरकार लचिलो हुनुपर्ने र चन्द समूह पनि आफ्ना अडान त्याग गरेर सहमतिमा आउनुपर्ने बताउनुभयो । नेता खाँणले नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले सधैं वार्ता र सहमतिमा जोड दिने बताउनुभयो । खाँणले सरकारले अघि बढाएको मिडिया काउन्सिल विधेयकको समेत विरोध जनाउनु भयो । उहाले मुलुकको परिवर्तनमा आवश्यक भूमिका खेल्न नेकपाका नेताहरुलाई सुझाव पनि दिनुभयो । कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले सरकारविरुद्ध सडक र सदनबाट खवरदारी गर्ने बताउनुभयो ।


प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लब र प्रदेश नम्बर ३ बिजयी भएका छन् । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल रहेको प्रदेश नम्बर ३ ले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो जित दर्ता भर्यो । गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै प्रदेश ३ ले दोस्रो जित निकालेको हो । गण्डकी प्रदेशले दिएको १०९ रनको सामान्य लक्ष्य प्रदेश ३ ले २२ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । प्रदेश ३ लाई जित दिलाउन आदील खानले अविजित ३८ रन जोडे । यस्तै इशान पाण्डेले अविजित २६ तथा रित गौतमले २० रन बनाए । गण्डकीका किशोर महतोले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ३० ओभर १ बलमा अलआउट हुँदै १०८ रन बनाएको थियो । गण्डकीका लागि सुमा घिमिरेले ३४ तथा आकाश थापाले २४ रन जोडे । प्रदेश ३ का लागि कप्तान पारस खड्का र सुर्य तामाङले ४–४ विकेट लिए । नन्दन कुमार यादबले २ विकेट लिए । जितसंगै समूह ’ए’ को प्रदेश ३ ले ३ खेलबाट ४ अंक जोडेको छ । अंकविहीन गण्डकी चौंथो स्थानमा छ । यस्तै मुलपानी क्रिकेट मैदानमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेटमा लगातार तेस्रो जित निकाल्न सफल भयो । कर्णाली प्रदेशलाई ११७ रनको फराकिलो गर्दै आर्मीले लगातार तेस्रो जित निकालेको हो । मुलपानी क्रिकेट मैदानमा आर्मीले दिएको २९१ रनको फराकिलो लक्ष्य पछ्याएको कर्णाली ३५ ओभर १ बलमा अलआउट हुँदै १७३ रनमा समेटियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर खेल्दै ९ विकेट गुमाएर २९० रन बनाएको थियो । जितसंगै आर्मी सेमिफाइनल नजिक पुगेको छ । समूह ’बी’ को शीर्ष स्थानमा रहेको आर्मीले ३ खेलबाट ६ अंक जोडेको छ ।








तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार