पोखरा, वैशाख ।
संघीय संसदको बजेट अधिवेशन आजदेखी सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको बजेट (वर्षे) अधिवेशन आजबाट सुरु हुन लागेको हो । संघीय संसद सचिवालयले आज अपराह्न ४ बजेका लागि संसदको चौथो अधिवेशनको पहिलो बैठक बोलाइएको जनाएको छ ।


बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुका साथै त्यसमाथि छलफल गरेर पारित गरिन्छ । संविधानको व्यवस्था अनुसार जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्छ । यसअघि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने प्रचलन छ । यस वर्ष वैशाख २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।
तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सरकार एकलौटी ढंगले अगाडी बढेको बताउदै सरकारको नीति तथा कार्यक्रममा अवरोध गर्ने चेतावनी दिएको छ । सरकारले सहमति, सहकार्य र मेलमिलापको खिलापमा काम गरिरहेको उसको आरोप छ ।
सचिवालयका अनुसार चौथो अधिवेशनका लागि प्रतिनिधिसभामा कूल २७ विधेयक प्रस्तुत गर्ने तयारी भएको छ । प्रतिनिधिसभाको विधेयक शाखामा दुई विधेयक चौथो अधिवेशनका लागि दर्ता भएको छ । राष्ट्रियसभामा आठ विधेयक प्रस्तुतिको तयारी छ । चार विधेयक राष्ट्रियसभामै उत्पन्न भएका हुन् । सभा मै उत्पन्न भएका विधेयकमा विज्ञापन नियमन, ज्येष्ठ नागरिक (पहिलो संशोधन), नागरिक लगानी कोष र प्रशासकीय अदालत सम्बन्धी विधेयक रहेको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार