पोखरा, चैत्र । नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) योजना तथा समन्वय शाखाका निर्देशक डा. रामचन्द्र अधिकारीले कृषकको माघको आधारमा अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल कृषि अनुसन्धान परिषद् अन्र्तगत गण्डकी प्रदेशका विभिन्न विषयगत कार्यालयको सोमवार क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेमा भएको दोस्रो चौमासिक समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै निर्देशक डा. अधिकारीले सो कुरामा जोड दिएका हुन ।उनले बीऊ, बिरुवा, नस्ल तथा माछाका भुराको थप अनुसन्धान गर्न वैज्ञानिकलाई आग्रह पनि गरेका छन् ।


निर्देशक डा. अधिकारीले अन्य बालीको तुलनामा मकै र कोदोको अनुसन्धानमा विशिष्टता हासिल गर्न क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्ले तथा लिची र मेकेडेनीया नटको अनुसन्धानमा विशिष्टता हासिल गर्न बागवानी अनुसन्धान केन्द्र मालेपाटनलाई सुझाए ।उनले एक्लैले गरेको अनुसन्धान सफल नहुने दावी गर्दै अनुसन्धानको दायरा बढाएर काम गर्न आग्रह पनि गरेका छन् ।
माछा अनुसन्धान केन्द्र वेगनासका प्रमुख अग्नि नेपालले नेपालको भुधरातल साँघुरिदै गएको औँल्याउँदै थोरै क्षेत्रमा धेरै उत्पादन लिन सक्ने प्रविधिको प्रयोगतर्फ सबै सरोकारवालाको ध्यान जानुपर्ने भनाई राखे ।बाख्रा अनुसन्धान केन्द्र बन्दिपुरका प्रमुख राजु कँडेलले नस्ल सुधारमा सिमेन्ट(बीर्य) संकलनको भुमिका महत्वपूर्ण रहने भन्दै त्यसमा सुधार ल्याउन जरुरी रहेको बताए ।त्यस अवसरमा अनुगमन तथा मूल्याङकन महाशाखाका वैज्ञानिक समय गैरेले पनि भनाई राखेका थिए ।
कार्यक्रमका बीच क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका वैज्ञानिक अस्मिता खनाल, बागवानी अनुसन्धान केन्द्र मालेपाटनका प्राविधिक अधिकृत लोकनाथ अर्याल, बाख्रा अनुसन्धान केन्द्र बन्दिपुरका वैज्ञानिक संगुन मल्ल तथा माछा अनुसन्धान केन्द्र वेगनासका प्रतिनिधि डा. महमद एकवाल हुसेनले आ–आफ्नो केन्द्रका गतिविधिबारे प्रस्तुती राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार