पोखरा, जेठ ।
बिभिन्न प्रदेशका मुख्यमन्त्रीहरुसंगको छलफल र बिकास आयोजनाको अनुगमनका लागी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले एक्सन रुम सञ्चालनमा आएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त एक्सन रुमको उद्घाटन गर्नुभयो । एक्सम रुम उद्घाटन गरेर सातवटै प्रदेशका मुख्यमन्त्रीसँग राज्य सञ्चालनका विविध पक्षमा एकैसाथ प्रधानमन्त्री ओलीले छलफल समेत गर्नुभएको थियो । एक्सन रुम निर्माण भएपछि सातवटै प्रदेशका मुख्यमन्त्रीसँग एकै पटक छलफल गर्न र राष्ट्रिय गौरवका विकास प्रणाली जडान गरी अनुगमन पनि गर्न सकिने प्रधानमन्त्री कार्यालयले जनाएको छ । एक्सन रुमको उद्घाटन गर्दे प्रधानमन्त्री ओलीले सरकारको हरेक कामलाई व्यवस्थीत गर्न र बिकास कार्यका बारेमा छलफल गर्न मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपाल डिजिटल युगतर्फ अघि बढेको बताउनुभयो ।


पोखरा उद्योग वाणिज्य संघ तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानबाट संयुक्त रुपमा आयोजित ११ दिने उद्यमशीलता तालीम बुधबार सम्पन्न भएको छ । तालीममा कास्कीसहित देशका बिभिन्न भागका ३२ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । व्यवसायका सम्भावना खोज्दै व्यक्तिलाई उद्यमशील बनाउनु तथा उद्यमशीलताको माध्यमबाट स्वरोजगार र पछि रोजगारी सृजना गर्नु तालीमको उदेश्य रहेको थियो । तालीमको समापनको अवसरमा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण दामु अधिकारीले एउटा व्यक्तिको कमाईमा निर्भर रहने प्रवृत्ति अन्त्यको लागि सामूहिक पहल थालिनु पर्नेमा जोड दिए । उनले सके कमाउने र नसके पनि आफूलाई बाँच्न पुग्ने आम्दानी गर्न सके त्यसले आत्मविश्वास बढाउनुका साथै परिवारको बचत क्षमता पनि बृद्धि हुने धारणा राखे । पोखरा उद्योग वाणिज्य संघले प्रमाणपत्र बाँढ्न र फोटो खिचाउनका लागि तालीम आयोजना नगर्ने प्रष्ट पार्दै उनले तालीमको व्यवहारिक प्रयोग गर्न सहभागीहरुसँग आग्रह पनि गरे ।


‘तपाईँहरुले यो तालीममा सिकेका कुरा व्यवहारमा उतार्ने जमर्को गर्नुभयो भने हामी त्यसपछि आवश्यक पर्ने दक्षता अभिबृद्धि र लगानीको क्षेत्रमा पनि सघाउन सक्छौँ’अध्यक्ष अधिकारीले भने,‘एउटै व्यक्तिले सबै काम गर्छु भन्ने नसोच्नुहोस् बरु कुनै आफूले उत्पादन गर्ने सामान अन्य उत्पादनलाई सहायक हुनेबारे पनि ध्यान दिनुहोस् । तालीम समापन कार्यक्रमका अध्यक्ष तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान गण्डकीका कामु निर्देशक रामप्रसाद तिवारीले उद्यमशीलताको लागि लगन र समर्पण जरुरी भएको बताए । पोखरा उद्योग वाणिज्य संघकी उपमहासचिव तथा तालीम व्यवस्थापन उपसमितिकी संयोजक चिनु गुरुङले रोजगारी सृजना नै उद्योग वाणिज्य संघको लक्ष्य भएको बताउँदै बजारको माग हेर्दै सो क्षेत्रमा दक्षता हाँसिल गर्नुपर्नेमा जोड दिइन् । तालीमकी प्रशिक्षक तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका बरिष्ठ अधिकृत समिता श्रेष्ठले तालीमले बाटो मात्र देखाउने र बाटोमा हिँड्ने काम भने आफैले गर्नुपर्ने भन्दै प्रशिक्षार्थीहरुलाई रचनात्मक बन्न सुझाव दिइन् । प्रशिक्षार्थीको तर्फबाट बोल्दै तनहुँ बन्दीपुरका आसित बिकले तालीमले व्यवसायिक योजना बनाउने बाटो त देखाएको तर त्यो नै पूर्ण नभएको बताउँदे थप तालीमको अपेक्षा गरे । अर्की प्रशिक्षार्थी अस्मिता गुरुङले तालीमले केही गरौँ भन्ने भावना जगाएको बताइन् ।
१३ औं दक्षिण एसियाली खेलकुद सागको तयारी स्वरुप राष्ट्रिय टिमको प्रशिक्षण बुधबारबाट सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपले प्रारम्भिक चरणमा ७ खेलका खेलाडीलाई सहभागी गराएर प्रशिक्षण सुरु गरेको हो । आगामी मंसिरमा नेपालमै आयोजना हुने सागमा २७ खेल समावेश गरिए पनि बजेट अभावको कारण देखाउँदै राखेपले हाललाई ७ खेलको मात्रै प्रशिक्षण थालेको हो । बुधबार बिहान ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कराँते हलमा सागको लागि खेलाडीको विशेष प्रशिक्षण कार्यक्रमको औपचारीक सुरुवात गरियो । पाराग्लाईडिङ, सुटिङ, जुडो, भारत्तोलन, आर्चरी, टेबल टेनिस र स्क्वास खेलको तयारी थालिएको हो । पहिलो चरणको प्रशिक्षण असार मसान्तसम्म चल्नेछ । हालै मध्यपश्चिममा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण र रजत पदक जितेका खेलाडीलाई विशेष प्रशिक्षणमा समावेश गरिएको राखेपले जनाएको छ ।









तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार