काठमाण्डौ, वैशाख ।
सरकारले मुलुकमा दोहोरो अङ्कको आर्थिक वृद्धिको आधार तयार भएको जनाएको छ । सरकारका तर्फबाट संघीय संसदमा नीति तथा कार्यक्रम पेश गर्दे राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले चालू आर्थिक वर्षमा विकास सम्भव रहेको भन्दै दोहोरो अङ्कको आर्थिक वृद्धिको आधार तयार भएको बताउनुभयो ।


हरेक दिन एक कदम अगाडि बढ्ने शैलीका कारण समृद्धिको आधार तयार गर्न सरकार सफल भएको उहाँले उल्लेख गर्नुभयो । वर्तमान सरकार गठनपछि राष्ट्रिय अखण्डता र एकता सुदृढ भएको, पुनःनिर्माण उल्लेखनीय भएको, एक हजार किमी सडक कालोपत्र भएको, थप ३०० पुलको निर्माण सम्पन्न भएको र डिजिटल नेपालको कार्यढाँचा तयार भएको तथा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको कार्यक्रममा उल्लेख छ ।
उहाले त्रिभुवन बिमानस्थल २४ घण्टा सञ्चालन गर्ने र बुटिक बिमानस्थल बनाउने काम भइरहेको जानकारी दिनुभयो । उहाले भैरहवा बिमानस्थल लगाएतका बिमानस्थलको निर्माण कार्य तिव्र भइरहेको बताउनुभयो । मुलुकमा जनताको जलविधुत आयोजना अन्तर्गत जनताको सहभागीतामा जलविद्युत आयोजनाहरु पनि तीव्र रुपमा निर्माण भइरहेको जानकारी दिनुभयो ।
जनता आवास सुविधा उपलब्ध गराइएको, विद्यालय बाहिर रहेकामध्ये ८१ प्रतिशत विद्यार्थीलाई भर्ना गरिएको, प्राविधिक विद्यालय स्थापना शुरु भएको, १६ लाख नेपालीको स्वास्थ्य बीमा गरिसकिएको र भारत र नेपाल जोड्ने रेलमार्ग निर्माणको प्राविधिक कार्य सम्पन्न भएको कार्यक्रममा जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार