Home / खेलकुद / साग लक्षित पोखरामा बिच भलिवल कोर्ट निर्माण सुरु

साग लक्षित पोखरामा बिच भलिवल कोर्ट निर्माण सुरु

१३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित हुने गरी पोखरामा बिच भलिवल कोर्ट निर्माण गर्न सुरु गरिएको छ । राष्ट्रिय खेलकुद परिषदको आर्थिक सहयोगमा आगामी १५ दिन भित्रमा सकिने गरी पोखराको बाराहीघाटमा उक्त भलिवल कोर्ट निर्माण कार्य शनिबार देखि सुरु गरिएको कास्की जिल्ला भलिवल संघका अध्यक्ष एवं बिच भलिवल कोर्ट निर्माण समितिका संयोजक समेत रहेका भिम पराजुलीले बताए । उनका अनुसार ३ वटा बिच भलिवल कोर्ट सहितको ४ वटा चेन्जिङ रुम, २ वटा सौचालय, र एउटा बिच भलिवल कोर्ट मर्मत गरिने भएको हो । पोखराको फेवातालकिनार बाराही घाट स्थित नेपाल ट्रष्टको जग्गामा करिब ५२ लाखको लागतमा उक्त पूर्वाधार निर्माण गर्न लागिएको संयोजक पराजुलीले बताए । नयाँकोर्टहरु निर्माणका लागि करिब ५ फिट गहिरो खाल्टो पुर्न करिब ५ हजार ५ सय घन मिटर माटो लाग्ने उनले बताए । शनिबार देखि ५ वटा ट्रिपर प्रयोग गरी फेवातालको माटो निकाल्ने अभियान अन्र्तगत फेवातालको शिरान भागबाट माटो निकाल्दै बाराही घाटमा ल्याईएको संयोजक पराजुलीले जनाए । करिब डेढ फिट सेतीनदीको बालुवा माथिल्लो खाल्टो पुरेसंगै माथिल्लो भागमा राखेर बिच भलिवल कोर्ट निर्माण गरिने भएको उनले जनाए । भलिवल कोर्टसंगै अस्थायी प्यरापिट समेत बनाउने आफुहरुको योजना रहेको पराजुलीले जनाए । पर्यटकीय नगरी पोखरामा उक्त भलिवल कोर्ट निर्माण भएसंगै सागमा छनौट भएका खेलाडीहरुको समेत प्रशिक्षण गरिने भएको राखेपका सदस्य राजेश गुरुङले बताए । उनले भने “ पोखरामा साग लक्षित ९ वटा खेलका खेल पूर्वाधार निर्माण केही धमाधम भइ रहेकाछन भने केही निर्माणको अन्तिम चरणमा पुगेकाछन्, सागका खेल पोखरामा हुने गरी हामीले पूर्वाधार निर्माणमा ध्यान दिएका छौं । ”

About googlepokhara