Home / समाचार / सरकारले तत्काल सक्रिय कुटनीतिक कदम चाल्नुपर्ने

सरकारले तत्काल सक्रिय कुटनीतिक कदम चाल्नुपर्ने

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीमबहादुर रावलले लिम्पियाधुरा, लिपुलेक र सुस्ता लगायतका कालापानी क्षेत्रका भू–भाग नेपालकै भएकोले त्यो फिर्ता गर्न सरकारले तत्काल सक्रिय कुटनीतिक कदम चाल्नुपर्ने बताउनुभएको छ । रिपोटर्स क्लब नेपालले आइतबार काठमाडौं गरेको साक्षात्कारमा उहाले नेपालको भौगोलिक अखण्डता सुदृढ बनाउनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वपक्षीय बैठकमा राष्ट्रिय सहमति जुटेको र सरकारलाई ठूलो शक्ति प्राप्त भएको समेत बताउनुभयो । नेता रावलले भारतसँग सिमा विवादबारे वार्ता गर्न अहिलेको अवसरलाई सरकारले उपयोग गर्नुपर्ने धारणा राख्नुभयो । रावलले नेपाल र भारतको सीमा क्षेत्रमा नेपालको सार्वभौम अधिकार रहेको प्रमाणित गर्ने ऐतिहासिक दस्तावेज, सम्झौता र व्यवहारसम्बन्धी तथ्यहरुलाई व्यवस्थित् रुपमा राख्दै सीमासम्बन्धी वार्तामा संलग्न व्यक्तिहरुलाई उपलब्ध गराईनुपर्ने बताउनुभयो । त्यस्तै, रावलले नेपाल–भारत सीमा क्षेत्रमा हराएका, बिग्रेका, भत्केका वा बिगारिएका स्तम्भहरुको तुरुन्त खोजी गरि तीनको पुनःस्थापना वा पुनः निर्माण गरिनुपर्नेपनि माग गर्नुभयो । नेता रावलले सीमासम्बन्धी वार्ताको अवसरमा कालापानी क्षेत्रबाट भारतले अनाधिकृत रुपमा तैनाथ गरका भारतीय सेना हटाउनुपर्ने माग गर्नुभयो । साक्षात्कारमा कांग्रेसका नेता रमेश लेखकले भारतीय सुरक्षा बल बसेको कालापानी र लिपुलेक नेपालको भुमि हो भन्ने कुरामा कुनै दुविधा नरहेको भन्दै त्यसलाई नेपालले आफ्नो नियन्त्रणमा लिएर उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । राजपाका नेता महेन्द्र राय यादवले नेपालको इतिहासमा पहिलो पटक दुई तिहाईको सरकारलाई राष्ट्रिय सहमती जुटेकाले नेपाल भारत सीमामा हुने गरेका सम्पूर्ण समस्याहरुको एकसाथ समहती खोज्नुपर्नेमा जोड दिनुभयो । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्नो पार्टी सर्वदलीय बैठकमा सहभागी नभएपनि उक्त सहमतीलाई सकारात्मक रुपमा लिएको बताउनुभयो । उहाँले इतिहासमा नेपालको सिमाना र भुमि तथ्यसंगत रुपमा स्पष्ट रहेकाले नेपाली जनताले दिएकमो समर्थनको आधारमा सकारले आफ्नो कदम अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।

About googlepokhara