काठमाण्डौ, २८ माघ ।
सांसदहरुले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण गर्दा सुरक्षामा बिशेष ध्यान दिनुपर्ने बताएका छन् । सिंहदरबारमा सोमबार बसेको राज्य व्यवस्था समिति बैठकमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफल उनीहरुले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण गर्दा व्यक्तिको सम्पूर्ण जानकारी उल्लेख हुदा गोपनियता कायम गर्नुपर्ने भएकाले सुरक्षामाथि प्रश्न उठाएका हुन् ।


त्यस्तै राष्ट्रिय परिचयपत्रले नेपाली नागरिकतालाई विस्थापन गर्ने वा नगर्ने भन्ने बारेमा पनि सांसदहरुले प्रश्न राखेका थिए । नेपालको संविधानको धारा ५१ को राज्यका नीतिहरुसम्बन्धि व्यवस्थाअन्तर्गत खण्ड ‘च’ को उपखण्ड (७) मा ‘एकीकृत राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली विकास गरी नागरिकका सबै प्रकारका सूचना र विवरणहरु एकीकृतरुपमा व्यवस्थापन गर्ने तथा यसलाई राज्यबाट उपलब्ध हुने सेवा सुविधा र राष्ट्रिय विकास योजनासँग आबद्ध गर्ने’ कुरा उल्लेख छ ।
बैठकमा सांसद दिलेन्द्र बडुले सुरक्षाका बिषयमा सरकारले गम्भीर ध्यान दिनुपर्ने भन्दै यसको छपाई काम नेपालमा नै गर्नुपर्ने तर्क गर्नुभयो । त्यस्तै सांसद अमरेश कुमार सिंहले नेपाली नागरिकता नपाएका व्यक्तिलाई परिचयपत्र दिइने वा नदिइने भन्ने प्रश्न गर्नुभएको थियो ।
बैठकमा गृहमन्त्रालयका सचिव प्रेम कुमार राइले घटना बिवरण देखि सबै बिवरणहरु परिचयपत्रमा उल्लेख हुने बताउनुभयो । उहाले परिचयपत्रमा रहेका बिषयहरुको गोपनियतालाई विशेष ख्याल गरिने बताउनुभयो । उहाले नागरिकता बनाउने उमेर नपुगेकालाइ नाबालक परिचयपत्र नंवर दिईने व्यवस्था गरिएको र १६ बर्षपछि त्यहि नंवर उल्लेख गरि परिचय पत्र दिइने जानकारी दिनुभयो ।
यसअघि गृहमन्त्री रामबहादुर थापाले पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको औपचारिक सुरुआत गर्नुभएको थियो । यही मंसिर ३ गते १ सय १ वर्षीया भगवतीदेवी भण्डारीले सर्वप्रथम उक्त परिचयपत्र पाउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार