मलेसियाका पूर्वप्रधानमन्त्री नाजीब रजाक अर्बौं डलरको भ्रष्टाचारको एक मामिलामा दोषी पाइएका छन् । यो मामिला वान–एमडीबी नामक सरकारी कोषसँग जोडिएको छ जसलाई नजीबले दुरुपयोग गरेकोमा दोषी ठहर गरिएको हो ।

पूर्वप्रधानमन्त्री नजीबविरुद्ध कम्तिमा तीनवटा मुद्दा चलिरहेको छ । यसमध्ये एउटाको फैसला मंगलबार आएको हो । नजीब रजाकले आफूमाथि लगाइएको आरोपलाई अस्वीकार गर्दै आइरहेका छन् । तर अभियोजन पक्षको आरोप छ कि सन् २००९ देखि २०१८ सम्म सत्तामा रहेका उनले यस सरकारी कोषबाट कम्तिमा एक अर्ब डलर आफ्नो व्यक्तिगत खातामा ट्रान्सफर गरेका छन् । भ्रष्टाचारको आरोप कै कारण दुई वर्ष पहिले भएको चुनावमा मतदाताले उनलाई सत्ताबाट बाहिर पुर्याएका थिए ।

फैसलासँगै अब नजीबले दशकौँ लामो जेल सजाय पाउन सक्छन् । तर, हाललाई भने उनी जेलबाहिर नै रहनेछन् ।

नाजीबले आफू यस प्रकरणमा निर्दोष रहेको बताउँदै आफूलाई आर्थिक सल्लाहकारहरुले गुमराहमा राखेको दाबी गर्दै आएका छन्, विशेष गरेर हाल फरार रहेका झो लोले । झोविरुद्ध अमेरिका र मलेसिया दुवैमा मुद्दा दायर गरिएको छ । उनले पनि आफू निर्दोष रहेको बताउँदै आएका छन् ।

देशको अर्थतन्त्रलाई उकास्न भन्दै सन् २००९ मा वान मलेसिया डेभलप्मेन्ट बेरहाद (वान–एमडीबी) स्थापना गरिएको थियो । सन् २०१५ मा बैंकहरुलाई पैसा तिर्न ढिलाइ हुन थालेपछि यसमाथि प्रश्न उठ्न थालेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार