Home / समाचार / गाउँपालिकामा आवश्यक कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या

गाउँपालिकामा आवश्यक कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या

बागलुङको निसिखोला गाउँपालिकामा आवश्यक कर्मचारीहरु नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । गाउँपालिकामा २७ जना कर्मचारीको दरबन्दी भएपनि अहिले ७ जना मात्रै कर्मचारी कार्यरत छन् । ती मध्ये २ वडा सचिव हुन् । गत असारमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद आचार्य समायोजन सहित सरुवा भएर गएपछि धेरै काम रोकिएको गाउँपालिकाले जनाएको छ । कर्मचारीको खोजीमा गाउँपालिका प्रमुख र उपप्रमुखले केन्द्र धाएपछि बल्ल ईश्वरलाल शाक्य हाजिर हुन आएका छन् । प्रशासन हेर्ने नासु छन् । उनको पनि सरुवा भइसकेको छ । काठेखोला गाउँपालिका सरुवा भएका नासु पुरुषोत्तम गौतमले जिम्मा लगाउने कोही नभए पनि सरुवा भएको ठाउँ जान नसकेको बताए । सदरमुकामदेखि १ सय ३० किमी पश्चिमको निसीखोलामा लेखा अधिकृत पनि छैनन् । केही करारमा राखिएका कर्मचारीको भरमा काम चलिरहेको छ । गाउँपालिका उपाध्यक्ष शोभा कार्कीले ग्रामिण क्षेत्र भएका कारण समायोजन हुँदा रोजेर आउने कर्मचारी नरहेको बताइन् । साउन र भदौमा गाउँपालिका प्रमुख पनि अमेरिका गएका थिए । उनको अनुपस्थितिमा कार्की र गौतमलाई आर्थिक अधिकार नहुँदा धेरै काम रोकिएका थिए । दैवीप्रकोप पीडितलाई तत्काल राहत दिने, शिक्षक र कर्मचारीलाई तलब खुवाउने लगायत काम समेत प्रभावित भएको थियो । अहिले यहाँ २ प्राविधिक करारमा छन् । कृषि र पशु शाखा हेर्ने २ कर्मचारी छ । एक जना स्वास्थ्यका कर्मचारी समेत गर्दा ७ कार्यरत छन् । उनीहरूमध्ये दुई जना सरुवा भइसकेका हुन् भने अन्य प्राविधिक शाखाका रहेको गाउँपालिकाले जनाएको छ । ७ वटा वडा भए पनि २ वटामा मात्र सचिव रहेको भन्दै वडामा बस्दा समस्या हुने भएपछि गाउँपालिका कार्यालयमा बसेर काम गर्न लगाएको वडा सचिवहरु बताउछन् ।

About googlepokhara