काठमाण्डौ, ०२ फाल्गुन ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधि र प्रक्रिया पूरा भएपछि उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका प्रतिवेदन सार्वजनिक गरिने बताउनुभएको छ ।

बिहिबार राष्ट्रियसभाको बैठकमा सांसदहरुले गरेका प्रश्नको जवाफ दिदै मन्त्री पोखरेलले करीब पाँच सय पृष्ठ रहेको सो प्रतिवेदनका आधारमा राष्ट्रिय शिक्षा नीति तथा नयाँ ऐनसमेत बन्ने जानकारी दिनुभयो ।

प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष हस्तान्तण भई मन्त्रिपरिषद्मा छलफलका क्रममा रहेको हुँदा सार्वजनिक नभएको मन्त्री पोखरेलले स्पष्ट पार्नुभयो । उहाँले अगामी दुई वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षालय सञ्चालनमा ल्याउने सरकारको नीतिअनुसार हालसम्म करीब ४०० स्थानीय तहमा शिक्षालय स्थापना भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल ४८१ विद्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षाका कार्यक्रम सञ्चालन गरिराखेका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न विश्वविद्यालयहरुसित समन्वय भइराखेको जानकारी दिँदै शिक्षामन्त्री पोखरेलले चीन सरकारबाट विश्वविद्यालयलाई छात्रवृत्तिको व्यवस्थासमेत भएको बैठकमा जानकारी दिनुभयो ।

बैठकमा सांसद राधेश्याम अधिकारीले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका प्रतिवेदन कहिले सार्वजानिक हुन्छ ? भनी प्रश्न गर्नुभयो । बैठकमा सांसद रामनारायण विडारी, वृशेषचन्द्र लाल लगाएतले मन्त्री पोखरेलसमक्ष प्रश्न गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार