Home / समाचार / गण्डकी प्रदेश सरकारको निर्णय : सावर्जनिक कार्यक्रमको आसनग्रहण २० मिनेटमा सक्नुपर्ने

गण्डकी प्रदेश सरकारको निर्णय : सावर्जनिक कार्यक्रमको आसनग्रहण २० मिनेटमा सक्नुपर्ने

गण्डकी प्रदेश सरकारले सार्वजनिक सभा समारोहमा अतिथिलाई फूलमाला, खादा र अबिर एकै साथ लगाउन प्रतिबन्ध गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पेस गरेको सार्वजनिक निकायको औपचारिक बैठक तथा समारोह सञ्चालन निर्देशिका स्वीकृत गरेसँगै यस्तो ब्यवस्था हुने भएको सरकारका प्रवत्ता रामशरण बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार घण्टौँ समय खर्चेर गरिने आसनग्रहणलाई २० मिनेट भित्रमा सिध्याउनुपर्ने ब्यवस्था गरिएको छ । यसैबिच गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपूरबाट नै अब सवारी लाइसेन्स वितरण गरिने भएको छ । यस्तै विभिन्न संघसंस्थालाई दिने भनिएको अनुदान सम्बन्धी छलफल पनि मन्त्री परिषदले टुंग्याएको छ । कानुन मन्त्रालयले पेस गरे अनुसार कास्की जिल्ला अदालत बार एशोसियशनको भवन निर्माणका लागि ३० लाख, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितीलाई १५ लाख, पत्रकार महासंघ जिल्ला शाखा बाग्लुङलाई १५ लाख रुपैयाँ र नेपाल पत्रकार महांसघ तनहुँलाई १० लाख रुपैयाँ दिने निर्णय भएको सरकारका प्रवत्ता बस्नेतले जानकारी दिनुभयो । सामाजिक विकास मन्त्रालयले मन्त्री परिषदमा पेस गरे बमोजिम गण्डकी प्रदेशमा सञ्चालनमा रहेको क्षेत्रीय क्षयरोग केन्द्र प्रदेश सरकार मातहत दिन संघ सरकारलाई आग्रह गर्ने निर्णय समेत गरिएको छ । त्यस्तै धर्मकाय बुद्धमण्डला विकास तथा ब्यवस्थापन समितिले कास्कीको काहुँडाँडामा बुद्धमन्दिर बनाउने भनि पेस गरेको प्रस्ताव बमोजिम प्रदेशले राष्ट्रिय प्राथमिकता प्राप्त योजनामा राख्न संघलाई सिफारिस गर्ने भएको छ । बुद्ध मन्दिर काहुँको धारापानी सामुदायिक बनको १७० रोपनी जग्गामा निर्माण हुनेछ । भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको स्याउ विशेष कार्यक्रम सञ्चालन कार्यविधि २०७६ स्वीकृत पनि मन्त्री परिषदले स्वीकृत गरेको छ । स्याउ विशेष कार्यक्रम मुस्ताङ, मनाङ, गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकामा लागु हुनेछ ।

About googlepokhara